सोलुखुम्बु । इको हिमाल नेपालले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाको लैङ्गिकमैत्री हिमालयन विद्यालय परियोजना अन्तर्गत ७ आधारभूत र २ माध्यमिक विद्यालयका ४९ जना विद्यार्थीलाई जनही दश हजार छात्रवृत्ति रकम उपलब्ध गराएको हो ।
प्राप्त छात्रवृत्ति रकम विद्यार्थीले आत्मनिर्भरताका लागि आयमूलक क्रियाकलापमा लगानी गर्ने र त्यसको आम्दानीबाट शिक्षामा खर्च गर्ने गरी अवधारणा तयार पारिएको छ । विद्यार्थीहरुले प्राप्त रकम सुँगुर, बाख्रा, कुखुरा पालन लगायतका क्रियाकलापमा लगानी गर्न सक्ने इको हिमाल नेपालका परियोजना अधिकृत गोमा शर्माले बताइन् ।

छात्रवृत्ति पाउनेमा पात्ले आधारभुत विद्यालय, जन सुधार आधारभुत विद्यालय, देनाम आधारभुत विद्यालय, खिरौले आधारभुत विद्यालय, पेल्माङ आधारभुत विद्यालय, बासुकी आधारभूत विद्यालय, अमरज्योति आधारभुत विद्यालय, छेस्काम माध्यमिक विद्यालय र गुदेल माध्यमिक विद्यालयका विद्यार्थी रहेका छन् ।
आर्थिक अभावकै कारण विद्यार्थीले विद्यालय छाड्ने, अनियमित हुने समस्या हटाउनुका साथै विद्यार्थीलाई आत्मनिर्भर, लघुउद्यमी र व्यवहारिक बनाउन पनि स्वआर्जित अवधारणा लागू गरिएको इको हिमालका परियोजना सहायक प्रविनकला कुलुङले जानकारी दिइन् ।
छात्रवृत्ति वितरण कार्यक्रम एक हप्ता चलेको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।