१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

कुन्ती र शिशिरको स्वरमा ‘भ्रष्टाचारको चपेटामा देश’ (भिडियो)



काठमाडौं । चर्चित गायकहरू कुन्ती मोक्तान र शिशिर योगीको स्वरमा भ्रष्टाचारविरोधी गीत सार्वजनिक भएको छ । मोक्तान र योगीको स्वरमा रहेको ‘भ्रष्टाचारको चपेटामा देश’ गीतको म्युजिक भिडियो मंगलबार काठमाडौंमा प्रिमियर गरिएको हो ।

चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता बानेश्वरमा आयोजिक एक कार्यक्रमबीच गीतको म्युजिक भिडियोको प्रिमियर गरिएको हो । प्रिमियिर कार्यक्रममा राजनीतिक रबिन्द्र मिश्र, डा. सुरेन्द्र केसी तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

हेम पाठकको शब्द रचना रहेको गीत ‘भ्रष्टाचारको चपेटामा देश’को म्युजिक भिडियोको छायांकन हालै सम्पन्न भएको थियो । अमेरिकाको टेक्ससस्थित ‘हेम–सरिता पाठक फाउन्डेसन’का प्रमुख संरक्षकसमेत रहेका पाठकले शब्द रचना रहेको गीतको म्युजिक भिडियो भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको थियो । म्युजिक भिडियोको अधिकांश दृश्य भक्तपुरको ‘होटल सिटी गाउँ’मा छायांकन गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

उक्त गीतको संगीतकार बी बी अनुरागी रहेका छन् । म्युजिक भिडियोमा कलाकारहरू किरण के. सी., विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आर. के. मानन्धरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन सुदन के. सी. र सहनिर्देशन चन्द्र भण्डारीले गरेका छन् ।

म्युजिक भिडियोको छायांकनमा फाउन्डेसनकी संरक्षक सरिता पाठक, मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटी, पत्रकार शिव गाउँले, समाजसेवीहरू ओम उप्रेती, गोपाल गड्तौला, गायक टिकाराम कट्टेललगायतको सहभागिता रहेको थियो ।

‘हेम–सरिता पाठक फाउन्डेसन’ले ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’, ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ र ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्दै आएको छ ।

त्यस्तै प्रतिष्ठानले नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको फाउण्डेसनको नेपाल शाखा अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ११ : १९ बजे