काठमाडौँ । डिजिटल प्रविधिको तीव्र विकाससँगै इभेन्ट व्यवस्थापनलाई सरल र सहज बनाउने उद्देश्यसहित नयाँ नेपाली एप ‘द निम्तो’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अब विवाह, पार्टी, कर्पोरेट कार्यक्रमदेखि पारिवारिक समारोहसम्मका लागि आवश्यक भेन्यु, फोटोग्राफर, मेकअप आर्टिस्ट, डिजे, डेकोरेसन तथा मेहन्दीजस्ता सेवा घरमै बस्दै मोबाइल एपबाटै बुक गर्न सकिने सुविधा उपलब्ध भएको छ।
आइतबार काठमाडौंको बबरमहलस्थित हिमालयन जाभामा आयोजित कार्यक्रममा एपका विशेषता र सेवाबारे जानकारी दिइयो। सो अवसरमा द निम्तोका निर्देशक प्रसन्न राज अर्यालले एप विगत दुई वर्षदेखि सञ्चालनमा रहे पनि अहिले औपचारिक रूपमा सार्वजनिक गरिएको बताए। उनका अनुसार हालसम्म ५० हजारभन्दा बढी प्रयोगकर्ताले एप प्रयोग गरिसकेका छन् भने २०० भन्दा बढी इभेन्ट बुकिङ सम्पन्न भइसकेका छन्। एपमार्फत हाल एक हजारभन्दा बढी सेवा प्रदायक जोडिइसकेका छन्।
अर्यालले ‘द निम्तो’ को सफलतामा सम्पूर्ण टिमको निरन्तर मेहनत, धैर्य र विश्वास मुख्य आधार बनेको उल्लेख गरे। नेपालमै बसेर, स्वदेशकै अवसरलाई उपयोग गर्दै पारदर्शी र जिम्मेवार डिजिटल प्लेटफर्म निर्माण गरिएको उनले बताए। विदेश जाने योजना त्यागेर सुरु गरिएको यस पहलले आज सयौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको उनको भनाइ छ।
प्रयोगकर्तालाई थप सहजता दिन एपमा आफूले छानेको भेन्युको ३६० डिग्री भर्चुअल अवलोकन गर्न मिल्ने सुविधा समावेश गरिएको छ। साथै, आगामी दिनमा कार रेन्टल, बग्गी सेवा, पण्डित तथा ज्योतिषी सेवा समेत थप गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।
‘द निम्तो’ एप हाल आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ, जसले इभेन्ट व्यवस्थापनलाई समय, श्रम र खर्च बचत गर्ने डिजिटल समाधानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

























