७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

लोखिमबाट काँग्रेस सोलुको एक सय दिने राष्ट्रिय अभियान सुरु


१६ मंसिर २०८१, आइतबार  

158
Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमबाट १०० दिने राष्ट्रिय अभियानको औपचारिक सुरुवात गरिएको छ ।
जिल्ला कार्यसमितिले खटाएका जिल्ला प्रतिनिधि चन्द्र आचार्यले पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिमा आज लोखिमबाट अभियानको शुभारम्भ गरेको हो ।

आयोजित कार्यक्रमले संगठन सुदृढीकरण र वडास्तरीय विकास निर्माणलाई तीव्रता दिने उद्देश्यका साथ अभियान सुरु गरेको पार्टीका थुलुङ दुधकोशी प्रतिनिधि चन्द्र आचार्यले जानकारी दिए । कार्यक्रममा कृयाशील सदस्यताको नवीकरण आजैदेखि थालनी गरिएको छ भने वडा समितिका रिक्त पदहरू तत्काल पूर्ति गर्ने निर्णय गरिएको छ।

साथै, वडास्तरका विकास निर्माणमा देखिएका ढिलासुस्ती र मनमानी प्रवृत्तिविरुद्ध प्रतिनिधिमण्डल पठाउने र त्यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।

वडास्तरमा भावनात्मक एकता कायम गर्नका साथै पालिका स्तरमा हुने सबै अभियानमा सक्रिय सहभागिता जनाउने निर्णयलाई ऐतिहासिक मानिएको छ।

कार्यक्रममा संगठन विभागको तर्फबाट वडा समितिलाई लेटर प्याड, स्ट्याम्प र सदस्यता प्याड हस्तान्तरण गरिएको बताइएको छ ।

उक्त अवसरमा वडा सभापति दल बहादुर तामाङले अभियानलाई सफल बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नेता पदम राई र युवा नेता गेल्जेन शेर्पाले अभियानले संगठन र विकास निर्माणमा देखिएका चुनौतीहरूको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

अभियानले वडास्तरीय गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जिल्लामा पहिलो पटक थुलुङ दुधकोशीबाट सुरु भएको अभियान सबै पालिकामा हुने नेपाली कांग्रेसले जनाएको छ ।

पार्टीको जिल्ला कार्यसमितिले जिल्लाको ८ वटै पालिकामा अभियान संचालनको जिम्मेवारीसहित पालिका प्रतिनिधि खटाइसकेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ३९ बजे