काठमाडौं । जापानमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले जापानको हाकोनेमा मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल कल्याण समाज जापानको आयोजनामा आगामी जुन १६ मा हुने प्रतियोगिताको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन तथा नेपाली समुदायबीच एकता अभिवृद्धि गर्नु रहेको आयोजक समितिका अध्यक्ष विष्णु शर्माले जानकारी दिए।
प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख ११ हजार १ सय ११ येन प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २ लाख ११ हजार १ सय ११ येन प्रदान गरिनेछ। नगद पुरस्कारसँगै ट्रफी, मेडल तथा प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
खेलकुद संयोजक मनोज केसीका अनुसार प्रतियोगिताका उत्कृष्ट पाँच विधाका खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई १० हजार येनसहित ट्रफी प्रदान गरिनेछ भने बेस्ट डिफेन्डर, बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा बेस्ट कोचलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।
संस्थापक संरक्षक जोयबहादुर खड्काले सेइसा लेक एरिना हाकोनेमा आयोजना हुने प्रतियोगिताले खेल, पर्यटन र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
महासचिव खेमलाल सापकोटाका अनुसार प्रतियोगिता जुन १६ को बिहान ९ बजे सुरु भई साँझ ५ बजे समापन हुनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

























