१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८५ करोड ९५ लाखभन्दा बढीको बजेट



सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको १८औँ नगरसभाको पहिलो बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी वर्षका विकास प्राथमिकता र बजेट सार्वजनिक गरिएको हो।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु ८५ करोड ९५ लाख २३ हजार ९९५ बराबरको आय–व्यय अनुमान पेश गरेको छ। प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ रु ५१ करोड १२ लाख २८ हजार ९९५ र पूँजीगत खर्चतर्फ रु ३४ करोड ८२ लाख ९५ हजार विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सडक सञ्जालको स्तरोन्नति, पूर्ण विद्युतीकरण, स्वच्छ खानेपानीको सुनिश्चितता, कृषि तथा पशुपालनको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ। साथै शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ।

सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन ई–गभर्नेन्स (e-Governance) तथा संस्थागत क्षमता अभिवृद्धिमा जोड दिइने नीति नगरपालिकाले लिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ का लागि कर तथा शुल्क संकलन, छुट तथा राजस्व प्रशासन सम्बन्धी कानुनी व्यवस्था गर्न आर्थिक विधेयक २०८३ समेत नगरसभामा पेश गरिएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : १९ बजे