६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

अनमोललाई दीपक–दीपाको सान्त्वना : एउटा कलाकारले हिट फिल्म दिन सक्दैन्



काठमाडौं । निर्माता तथा कलाकार दीपकराज गिरीले समिक्षकले फिल्म मनपरादिए डर लाग्ने बताएका छन् । उनले समिक्षकले मन पराएको फिल्मलाई दर्शकले मन नपराउने भएकाले समिक्षकले फिल्मको समिक्षा राम्रो गरोस् भन्ने नलाग्ने बताए ।

चलचित्र कलाकार संघको निर्वाचनमा सहभागि बनेका गिरीले पत्रकारसँग कुराकानी गर्दै भने, ‘समिक्षकले फिल्म मन पराइदिए डर लाग्छ । दर्शकले मन पराउँदैनन् । दर्शक र समिक्षकको बाटो नै फरक छ । उहाँहरुलाई पनि खुसी पार्ने कोशिस गरौँला ।’ दर्शकले हलबाट निस्कदा जुन प्रतिक्रिया दिएका छन्, त्यो नै रियल प्रतिक्रिया भएको उनले बताए ।

तेस्रो हप्ता पनि उत्साहपूर्ण व्यापार गरिरहेको ‘छक्कापञ्जा ४’को कलेक्सनको विषयमा गरिएको प्रश्नमा दीपकले ‘छक्कापञ्जा ३’ले बनाएको रेकर्ड तोड्ने स्वीकार गरे । कलेक्सन रकम फरक फरक सार्वजनिक भएको विषयमा पत्रकारले गरेको प्रश्नमा उनले भने, ‘हामीले पैसाको विषयमा सामाजिक सञ्जालमा लेखेका छनौँ । नलेख्नौ पनि । यसअघिका छक्कापञ्जा हेर्ने दर्शकले यो फिल्म पनि हेर्नुहुन्छ । किनकी, दर्शकको ‘वड अफ माउथ’ एकदम स्ट्रोङ छ । त्यसकारणले हाम्रै रेकर्ड तोड्नेछ ।’

तेस्रो हप्ताको शनिबार टिकट अभावको दृष्टान्त प्रस्तुत गर्दै दीपकले भने, ‘यो स्पिड अझै लम्बिनेवाला छ । अन्य फिल्म पनि रिलिज छैन् ।’ ‘छक्कापञ्जा ४’सँग जुधेको अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’सुपर फल्प भएको विषयमा सोधिएको प्रश्नमा कलाकार गिरीले भने, ‘घोडा चढ्ने मान्छे लड्छ । सबै काममा सबै सफल बन्न सक्दैन् । मत भन्छु अनमोलसँग समय लामो छ । हाम्रो जस्तो हैन् । भतिज (अनमोल केसी)लाई धेरै धेरै शुभकामना ।’

सोही प्रश्नमा साथैमा रहेकी दीपाश्री निरौलाले भनिन् , ‘म त अनमोलको ठूलो फ्यान हूँ । उनलाई फल्प भन्न अप्ठ्यारो लाग्छ । किनभने एउटा कलाकारले मात्रै सिनेमा हिट बनाउन सक्दैन् । सबै कुरा मिल्नुपर्छ । त्यसैले त हामी जहिल्यै पनि टिमवर्क भनिरहेका हुन्छौं ।’ दीपाकै भनाइमा दीपक थप्छन्, ‘फिल्मलाई कलाकारले हिट बनाउने हैन्, टीमले हिट बनाउने हो । सायद, टीम राम्रो परेन होला ।’

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ३२ बजे