२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

विद्यालय अनुगमनलाई प्रभावकारी बनाइन्छ : मेयर शेर्पा



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने बताएका छन् ।

स्थानीय तहको समन्वयमा रीड नेपालले स्रोत शिक्षकको लागि सञ्चालन गरेको ६ दिने तालिमको समापनमा बोल्दै मेयर शेर्पाले तालिममा सिकेका कुरालाई व्यवहारिक बनाउन आग्रह गरे ।

रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बोगटीले रीड नेपाले स्थानीय सरकारसँग समन्वय गरेर तालिम सञ्चालन गरिरहेको बताउँदै तालिममा सिकेका कुरा आफ्नो स्थानमा गएर कार्यान्वयन गर्न आग्रह गरे ।

रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिममा आधारभूत शैक्षिक सामग्री निर्माण र प्रयोग, परिवर्तित पाठ्यक्रम तथा विद्यार्थी सिकाइ मूल्यांकन, विद्यालयको वर्तमान अवस्थाको विशेषण, नमूना कक्षा तयारी तथा नमूना कक्षा पर्दर्शन, विद्यालय सहयोग भ्रमण कार्यक्रमको अवधारणा, योजना निर्माण, प्रतिवेदनलेखन लगायतका विषयवस्तुमाथि छलफल गरिएको बताए ।

तालिममा सोलुका २१ जना श्रोत शिक्षकको सहभागीता रहेको थियो । रीडले सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका बाहेकका ७ पालिकामा शैक्षिक सुधारका विभिन्न पाटोमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ०४ बजे