काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा गायक संगीतकार शम्भु राईसहित ९० जना कलाकार र पत्रकार सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.ले कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।
म्यूजिक प्रा.लि.का अध्यक्ष मंगल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकेला गीत ‘विनायो मुर्चुङ्गा’का कलाकार, अन्य कलाकार र विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई सम्मान गरिएको हो । सम्मानित कलाकारलाई नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा गायक संगीतकार शम्भु राई र सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.का अध्यक्ष मंगल राईले सम्मान पत्र वितरण गरेका थिए ।
सम्मान ार्यक्रममा बोल्दै नाट्य प्रतिष्ठानका उपकुलपति राईले संस्कृति विनाको समाज कल्पना समेत गर्न नसकिने बताए । उनले संस्कृतिलाई जीवित राख्न नसके नेपाली भन्नुको कुनै अर्थ नहुने बताए । उनले भने, ‘तपाईहरु आयातित गीतसंगीतमा रमाउन थाल्नुभयो भने हाम्रो पहिचान हराउनेछ । त्यो दिन कसैले तिम्रो देशको संस्कृति पहिचान कस्तो हो भनेर सोध्दा हलिउड, बलिउडको उदाहरण दिनुपर्छ । त्यस्तो कुरालाई निस्तेज गर्दै लैजानुपर्छ ।’
सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.का अध्यक्ष तथा गीतकार मंगल राईले संगीतलाई मात्रै प्राथमिकता दिने उद्देश्य नरहेको र आगामी दिनमा सामाजिक गतिविधि पनि सँगै लैजाने बताए । ‘म विदेशमा रहेपनि नेपाली गीतसंगीतको चिन्ता सधैँ लाग्छ । विना विभेद दिनदुखिलाई सकेको सहयोग पनि गरिराखेको छु । सबै कार्यक्रम सुम्निमा पारुहाङबाटै गर्ने निधो गरेको छु ।’उनले भने ।