२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

थुलुङ दुधकोशी : पन्चन स्वास्थ्य चौकी कार्यसम्पादनमा उत्कृष्ट


३ आश्विन २०८०, बुधबार  

428
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पन्चन स्वास्थ्य चौकी कार्यसम्पादनमा उत्कृष्ट बनेको छ । 

बुधवार मुक्लीमा सम्पन्न पालिकास्तरिय समीक्षामा कार्य सम्पादनको आधारमा पन्चन स्वास्थ्य चौकी प्रथम, जुबु स्वास्थ्य चौकी द्वितीय र नेले स्वास्थ्य चौकी तृतीय भएको घोषणा गरिएको हो । उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य चौकीलाई पालिका अध्यक्ष असीम राईले धन्यवाद दिँदै प्रमाणपत्र प्रदान गरे । 

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को समीक्षा गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्य संस्था र विद्यालय नर्सले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असीम राईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई सोही अनुसार काम गर्न निर्देशन दिए ।

थुलुङ दुधकोशी गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालन गरेको स्मरण गराउँदै अध्यक्ष राईले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएकाले स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारीमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । 

यस्तै गाउँपालिका उपाध्यक्ष सविता राईले स्वास्थ्य क्षेत्रमा सबै जना संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा एक आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने तीन वटा स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरिएको पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष कार्कीले जानकारी दिए । 

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेत, ६ का वडा अध्यक्ष महेन्द्रदीप राई र वडा नम्बर ८ का वडा अध्यक्ष राजेश बाबु किराँती लगायतको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ५६ बजे