सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अन्तर्गत गुदेल स्वास्थ्य चौकीमा ल्याव सेवा बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको स्वास्थ्य जाँचसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरु गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
स्वास्थ्य चौकी इन्चार्ज किर्तिधन राईका अनुसार गर्भवती महिलाको नियमित चेकजाँच, बच्चाको अवस्था मूल्यांकन तथा अन्य आवश्यक परीक्षणका लागि यसअघि महाकुलुङ आधारभूत अस्पताल बुङसम्म लैजानुपर्ने बाध्यता रहेको थियो। अब गुदेलमै ल्याव सेवा उपलब्ध भएपछि स्थानीय सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ।

आर्थिक वर्ष २०८१र०८२ को वडा परिषदबाट विनियोजित बजेटमार्फत ल्याप खरिद गरिएको भए पनि विशेषज्ञ कर्मचारी अभावका कारण तत्काल सेवा सञ्चालनमा चुनौती रहेको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष महल सिं राईले आवश्यक स्रोत सुनिश्चितता र जनशक्ति व्यवस्थापन पछि सेवा सुरु भएको जानकारी दिए ।
वडा सरकारले विशेषगरी वडा नं ४ र ५ का स्थानीय सेवाग्राहीहरू यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुने जनाएको छ।
सेवा उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

























