सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले ट्रेल रेसले तल्लो सोलुको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताएका छन् ।
सोलुखुम्बुको पत्ताले धापबाट आईतवारबाट सुरु ट्रेल रेसको उद्घाटन गर्दै मेयर शेर्पाले आगामी वर्षमा रेसमा सहभागी बढाउन र रेस सम्पन्न आवश्यक बजेट साझेदारी गर्ने बताए ।
नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले सुरु एभरेस्ट ट्रेल रेसको यो ११ औँ संस्करण हो । एक सय ७५ किलोमिटर लामो यो दौडमा दुई नेपालीसहित १० देशका २९ जना धावक सहभागी छन् ।
पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । छ दिनस् चल्ने दौडमा िर्धारित एक सय ७५ किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ ।
प्रतियोगितामा पहिलो हुनेले दुई लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।
सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्यहाँबाट खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा झरेर समापन हुने आयोजकले जनाएको छ ।