७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

खुम्बु पासाङल्हामु १ को सेवा किन ठप्प छ ? वडाध्यक्षले दिए यस्तो कारण



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामुु गाउँपालिका वडा नम्बर १ खरिखोलाको सेवा ५ दिनदेखि ठप्प भएको छ । गाँउपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा र वडाध्यक्ष फुनुरु शेर्पाको टकरावका कारण वडाको सेवा गत बिहीबारबाट ठप्प भएको हो ।

गाउँपालिकाले वडा नम्बर १ लाई विभेदपुर्ण व्यवहार गरेको भन्दै वडाका जनप्रतिनिधिले निर्णय नै गरेर अनिश्चित कालका लागि वडाको सबै सेवा बन्द बन्द गरेका हुन् । गत बुधबार वडाका सबै जननिर्वाचित प्रतिनिधिहरु उपस्थिती भई बसेको वडा समितिको बैठकले गाउँपालिकाको विभेदपुर्ण व्यवहारप्रति खेद प्रकट गर्दै जायज माग सम्बोधन नभएसम्म वडाको सबै कामकाज बन्द गर्ने निर्णय गरेको थियो ।

जसका कारण वडाका नागरिकहरु मर्कामा परेका छन् । वडाबासी प्रशासनिक सेवा लिन कार्यालय पुग्ने गरेपनि कार्यालय बन्द हुँदा रित्तो हात फर्कन बाध्य भएका छन् । ५ दिनदेखि वडाको सेवा बन्द हुँदा समेत संवादको वातावरण देखिएको छैन् ।

सेवा सुचारु गराउन पालिकाले कुनै पहल गरेको देखिएको छैन् भने वडा समेत आफ्नो अडानबाट पछि हटेको छैन् । बरु वडाध्यक्ष र गाउँपालिका अध्यक्ष विच पत्र मार्फत जुहारी चर्किरहेको छ । पालिका अध्यक्षले गाउँपालिकाबाट वडालाई विभेद नगरेको तर्कसहित पत्र पठाएको छ भने वडा वडाध्यक्षले पनि त्यसको प्रतिउत्तरमा विभेद भएको दाबी सहित पत्र लेखेको छ ।

स्थानीय सरकार ऐन २०७४ दफा १२ ले दिएको काम, कर्तव्य र अधिकार तथा गाउँपालिको सम्बन्ध ऐन, कार्याविधी सम्मत वडा समितिको काम, कर्तव्य र अधिकार गाउँपालिकाबाट हनन भईरहेको दाबी गरेको छ भने गाउँपाकिलाले पनि श्रोत साधनले सम्भव भएसम्म समुचित तवरबाट बजेट विनियोजन गरिएको दाबी गरेको छ ।

उक्त गाउँपालिकामा अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने वडाध्यक्ष नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका हुन् । फरक पार्टी भएकै कारण राजनितिक पुाग्रह रखेर वडालाई पेल्न खोजेको वडाको आरोप छ भने गाउँपालिकाले आफुहरुबाट कुनै विभेद नभएको तर्क गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : २३ बजे