४ असार २०८२, बुधबार | Wed Jun 18 2025

महावै गाउँपालिका कालिकोटका अध्यक्षले भने, ‘थुलुङ दुधकोशीको विकास अनुसरण गर्न लायक’



सोलुखुम्बु । कालिकोटको महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले थुलुङ दुधकोशी गाउँपालिकाले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । दुई दिने अध्ययन भ्रमणका लागि एक टोलीको नेतृत्व गर्दै यहाँ आएका अध्यक्ष सिंहले थुलुङ दुधकोशी गाउँपालिकाको विकास मोडेल सिक्न लायक रहेको बताए ।

दुई कार्यकाल निर्वाचित हुने जनप्रतिनिधि कमै मात्रमा पाइने भन्दै उहाँले थुलुङ दुधकोशीको अध्यक्ष र उपाध्यक्ष दुबै जना दोहोरिएर काम गरिरहेकाले पनि जनअपेक्षा अनुसार काम भएको बुझिने बताए । कार्यव्यस्तताका कारण थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई बाहिर भएकाले भेट हुन नसकेको भएपनि टेलिफोन सम्बाद भएकाले काठमाडौंमा भेट्ने भन्दै उनले पुनः भ्रमणमा आउने बताए । नेतृत्व सक्षम र सबल हुनका साथै समाजका अगुवाको साथ भएको खण्डमामात्रै समानुपातिक विकास संभव हुने कुरा थुलुङ दुधकोशीबाट सिक्न सकिने उनको भनाइ छ ।

गाउँपालिकामा भए गरेका सामाजिक तथा भौतिक विकास निर्माण लगायतको अध्ययन गर्न उक्त टोली थुलुङ दुधकोशी आएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार महावै गाउँपालिका कालिकोटका अध्यक्ष सिंहको नेतृत्वको भ्रमणटोलीमा उपाध्यक्ष दान सिंह सैजवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, कृषि अधिकृत, लेखा अधिकृत, शिक्षा विद लगायत, इको हिमाल नेपालका कार्यकारी अधिकृत नारायण ढकाल सहित अन्य कर्मचारी रहेका छन् ।

उनिहरुले विषेश गरि गाउँपालिकाको प्रशासकीय भवन, प्राविधिक शिक्षालय, प्रदेश स्तरीय खेलमैदान, सामुदायिक अस्पताल, देउसा कृषिवन श्रत केन्द्र सहित अन्य सामाजिक विकासका मोडेलहरुको अध्ययन गरेका हुन् । टोलीलाई थुलुङ दुधकोशी गाउँपालिले स्वागत गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : १७ बजे