१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

फाप्लु-बेनी सडक खण्डको स्तरोन्नतिका लागी शिलान्यास



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका स्थित फाप्लु, खोलाघारी, बेनी सडक खण्डको स्तरोन्नतिका लागी शिलान्यास गरिएको छ । सोलुदुकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच बुधबार सडक स्तरोन्नतिका लागी शिलान्यास गरिएको हो ।

सघन सहरी तथा भवन आयोजना ओखलढुंगाको ८ करोड ५४ लाख ११ हजार १ सय ८७ रुपैयाँ लागतमा स्तारोन्नती हुने सडकको निर्माण कम्पनी देवीथान सम्सेर जेभिले निर्माणको जिम्मा लिएको छ । उक्त बजेटले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा ७ सय मिटर सडक ढलान हुने जनाइएको छ ।

यस्तै बाँकी फाप्लुबाट खोला घारी हुँदै सो सडक खण्डका विभिन्न स्थानमा स्तरोन्नतिका कामहरु हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जीनियङ धर्मेन्द्र पासवानले बताउनुभयो । पासवानका अनुसार उक्त बजेटमा कुल २ दशमलव ४ किमि सडक स्तरोन्नतिको काम हुने छ ।

सडक शिलान्यास कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले विकासका काममा नगरपालिकाले गुणस्तरमा सम्झौता नगर्ने भन्दै बजेट र स्टिमेट अनुसारको काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। उनले नगर क्षेत्र भित्रको विकासको कामका लागी अनुगमन र गुणस्तर परिक्षणलाई ध्यानमा राख्दै काम भइरहेकोले यस सडक स्तरोन्नतिको काममा पनि गुणस्तरमा सम्झौता नहुने बताए ।

कार्यक्रममा बोल्दै नगरपालीकाकी उपमेयर गान्धीमाया तामाङले सघन सहरीबाट नगरपालिकाकाका लागी विभिन्न कामहरु भइरहेको भन्दै उनले मेयर शेर्पाले गरेको लामो प्रयास पछि सफलता प्राप्त भएको उल्लेख गरिन् ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले मेयर शेर्पा र पूर्व सहरी विकास मन्त्री सिता गुरुङको पहलमा बजेट व्यवस्थापन भएको स्मरण गर्दै धन्यवाद व्यक्त गरे ।

वडा नम्बर २ का वडा अध्यक्ष ङवाङ् ठिले शेर्पाले आफ्नो वडा र वडा नम्बर ४ का लागी खुसीको दिनको रुपमा लिएको भन्दे गुणस्तरको कुरामा सम्झौता नगर्ने दोहोर्‍याए ।

सम्सेर निर्माण सेवाका सम्शेर कार्कीले परिणाम र परिमाणका विचमा रहेर काम गर्ने प्रतिबद्धता जनाए । उनले काम गर्ने सन्दर्भमा हुने कठिनाइ र समस्याहरूमा स्थानीयवासीको साथ चाहिने उल्लेख गरे।

निर्माण कम्पनीले गत जेठ ३१ गते नै आगामी वर्षको असोज मसान्त भित्रमा सडक स्तारेन्नतीको काम सक्नुपर्ने गरि सम्झौता भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : २३ बजे