३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

हिमालयन इन्टरनेशनल एक्स्पो : २१ हजार बढीले गरे अवलोकन, ३० करोड बढीको कारोबार


२० आश्विन २०८१, आइतबार  

122
Shares

काठमाडौं । हिमालयन इन्टरनेशनल एक्स्पो भव्यताका साथ सम्पन्न भएको छ । असोज १७ देखि १९ गतेसम्म भृकुटीमपण्डपमा आयोजना भएको एक्स्पो मा २१ हजार बढीले अवलोकन गरेका छन् ।

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना भएको एक्स्पोमा ३० करोड बढीको कारोबार भएको एक्स्पोका संयोजक सोमत अधिकारीले बताए ।

नेपाली हस्तकलाका दर्जनौँ उत्पादनका एक सयभन्दा बढी स्टलहरु एक्स्पोमा सहभागी थिए । एक्स्पोमा सबैभन्दा बढी गाजाबाट बनेको उत्पादन, सिसाबाट बनेका सामग्री र अल्लोमा अवलोकनकर्ताहरुको रुचि थियो ।

एक्स्पोमा पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा समावेश थिए ।

एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा भएको हो । यस्तै प्रतिनिधिसभाहरु सदस्य मोहनबहादुर बस्नेत, नारायणकाजी श्रेष्ठ, दिलेन्द्र प्रसाद बडू, रामहरि खतिवडा, गणेश पराजुली ज्ञानेन्द्र शाही, हरि ढकालको पनि उपस्थिति रहेको थियो । यस्तै प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै जनसम्पर्क सल्लाहकार किरण केसी, नेपाली उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले पनि एक्स्पो को अवलोकन गरेका थिए । यस्तै प्रतिनिसभा सदस्य सोविता गौतम लगायतले पनि नेपाली उत्पादनको प्रचारका लागि भूमिका खेलेका थिए ।

त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कलाकारहरु कालिप्रसाद बास्कोटा, चिज गुरुङ, निर्जला गुरुङ र जीवनविज्ञान गुरु भानु शर्माले पनि एक्स्पोको अवलोकन गरे । हिमालयन इन्टरनेशनल एक्स्पोको अर्को संस्करण आगामी जनवरी ३१ देखि फेब्रुअरी २ सम्म अमेरिकाको लस भेगस र अप्रिल ४ देखि ६ सम्म लस एन्जलसमा आयोजना हुने छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : २७ बजे