८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

फुलेलीमा निर्मित ‘वृद्धाश्रम’ उद्घाटनको तयारी


१९ कार्तिक २०८१, सोमबार  

148
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाको विशेष पहल, तारा फाउन्डेसन (अमेरिका)को आर्थिक सहयोग र स्थानीयहरूको सहभागितामा निर्मित वृद्धाश्रमको उद्घाटनको अन्तिम तयारी गरिएको छ । कात्तिक २१ गते उद्घाटनको तयारी गरिएको वृद्धाश्रम एक करोडको लागतमा निर्माण गरिएको हो । 

फल्ले वास विकास समिति फुलेलीले अघि सारेको अवधारणा अनुसार निर्माण गरिएको आश्रमको कोसी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यता, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, तारा फाउन्डेसन (अमेरिका)का अध्यक्ष लिली बोनी र उपाध्यक्ष डेनिस कोरियलको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिने आयोजक संस्थाले जनाएको छ ।

आश्रम परिवारजनको सहमति र लगानीमा, सो ईच्छामा आरामदायी जीवन बिताउन र बुढाबुढिहरुलाई सहज र सुबिधाको लागि निर्माण गरिएको हो ।

फल्ले वास विकास समितिको अवधारणा अनुसार २९ रोपनी जग्गा खरिद गरेर बहुउद्देश्यीय, पृथक किसिमको (वृद्धाश्रम) निर्माण गरिएको छ ।  आश्रमको बाँकी रहेको क्षेत्रमा निकट भविष्यमा सुन्दर बगैँचा (पार्क) को निर्माण गरिने, योगा, ध्यान केन्द्र, व्यायाम स्थल, मनोरञ्जन स्थल, संग्राहलय र आश्रममा बस्नेहरूको आर्थिक उपार्जनको लागि साना तथा घरेलु कृषि तथा सीप मूलक उद्योग स्थापना गर्ने  उद्देश्य राखिएको छ । 

फल्लेवासी किरात खालिङ राई जातीको भाषा, संस्कार, संस्कृतिको संरक्षण, संवर्द्धन र उत्थानको लागि स्थापित फल्लेवास विकास समितिले खालिङ समुदायले वर्षमा ३ पटक पुज्ने उभौली, उँधौली वास (तोस) लाई व्यवस्थित गर्ने, विवाह, मरन संस्कारलाई व्यवस्थित गर्ने, सांस्कृतिक क्षेत्रको भौतिक पुर्वधारको विकास गर्ने जस्ता कामहरू गर्दै आएको छ । 

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ मा अवस्थित फुलेली गाउँ अर्थात्  फल्ले गाउँ खालिङ राईहरूको मुख्य बसोबास रहेको गाउँ छि गाउँ, चोप्धेम, तेस, देलबया, ओलोम, पुर्दु, याप्लु, सतप्य, ढिक गाउँलाई समग्रमा फल्ले गाउँ भनेर चिनिन्छ । फल्ले फुलेलीमा बसोबास गर्ने पहिलो खालिङ पुर्खाको नाम हो । फल्ले बाजेको दर सन्तान बसोबास गरेको गाउँ हो फल्ले गाउँ । फल्ले गाउँ पछि अपभ्रंश हुँदै फुलेली गाउँ हुन गएको पुरातन कथन छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ९ : ५० बजे