सोलुखुम्बु । सोलुखुम्बुको टाक्सिन्दुमा सुविधा सम्पन्न वृद्धाश्रमको उद्घाटन गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु फुलेलीमा वडाध्यक्ष छोङ्बा शेर्पाको विशेष पहल, तारा फाउन्डेसन (अमेरिका)को आर्थिक सहयोग र स्थानीयहरूको सहभागितामा निर्मित वृद्धाश्रमको कोसी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यता तथा तारा फाउन्डेसन (अमेरिका)का अध्यक्ष लिली बोनी र उपाध्यक्ष डेनिस कोरियलको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो ।
फल्ले वास विकास समितिको अवधारणा अनुसार २९ रोपनी जग्गा खरिद गरेर बहुउद्देश्यीय, पृथक किसिमको (वृद्धाश्रम) निर्माण गरिएको छ । सुविधा सम्पन्न ८ कोठे, तीन तले, सभाहल सहितको भवन निर्माण गरिएको हो ।
बृद्धाश्रमको उद्घाटन गर्दै कोशी प्रदेशका पुर्व मन्त्री तथा सांसद बुद्धिकुमार राजभण्डारीले टाक्सिन्दुको विकासका लागि आफुले गरेका पहलबारे जानकारी गराए । उनले बृद्धाआश्रमको दिगो सञ्चालनका लागि आफुले सकेको सहयोग गर्न तयार रहेको र प्रदेश सरकारबाट समेत पहल कदमी लिने प्रतिबद्धता जाहेर गरे ।
तारा फाउन्डेसन (अमेरिका)का उपाध्यक्ष डेनिस कोरियलले वृद्धाआश्रमको भवन गौरवको आयोजना भएको र राम्रो बनाईएको भन्दै खुसी व्यक्त गरिन् । साथै आगामी दिनमा पनि वृद्धाआश्रम सञ्चालनका लागि आवश्यकता अनुसार सहयोग गर्दै जाने धारणा राखिन् ।
सोलुदुधकुण्ड नगरपालिकाका पुर्वउ पमेयर कल्पना राईले ग्रामिण क्षेत्रमा स्थापना गरिएको वृद्धाआश्रमबाट स्थानीय आमा बुबाले लाभ लिने बताईन् । टाक्सिन्दुमा थप विकासका लागि आफुले पनि सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि जनतासँगै रहेर काम गर्ने बताईन् ।
टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले सहयोगी मनहरु प्रति आभार व्यक्त गर्दै तारा फाउण्डेसन (अमेरिका)र नेपालको हिमालयन तारा फाउण्डेसनबिच सहकार्य तथा समन्वय गरेर यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए । वृद्धाआश्रम व्यवस्थित रुपमा सञ्चालन तथा बृद्धबृद्धालाई सुविधा प्रदान गर्ने कुरामा आफ्नो सहयोग सदैव रहने बताए ।
फल्लेवास विकास समितिका अध्यक्ष बुद्धलक्ष्मी राईले यो वृद्धाआश्रम अन्य आश्रम भन्दा फरक रहेको बताउँदै जिवनको अन्तिम समयसम्म पनि खुसी, आनन्दमय जीवनयापन गर्नका लागि बृद्ध भएका बाबा आमाहरुलाई उपयुक्त स्थान रहेको बताईन् । यसको दिगो सञ्चालनका लागि देश विदेशमा रहने टाक्सिन्दु बासीमा सहयोगको समेत अपेक्षा राखिन् । साथै तीनै तहका सरकार समक्ष वृद्धाआश्रम सञ्चालनका लागि पहलकदमी लिने समेत बताईन् ।
कार्यक्रमको अवसरमा फल्लेवास विकास समितिलाई देश विदेशबाट आर्थिक सहयोग समेत प्राप्त भएको छ । कार्यक्रमको अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष बलकुमार राईले पारदर्शी एवम् निपक्ष तरिकाले यो आयोजना सम्पन्न गरिएको बताए । वृद्धाआश्रम निर्माणका लागि ९२ लाख रुपैया खर्च भएको समेत उनले जनाए। जसमा तारा फाउन्डेसन (अमेरिका)को ७९ लाख २५ हजार ९७९ रुपैया प्राप्त भएको थियो ।
बाँकी स्थानिय र देश विदेशमा रहेका फुलेलीबासी खालिङ समुदायबाट संकलन भएको रकमबाट भवन निर्माण भएको हो । ९२ लाख ३८ हजार ३५९ रुपैया हालसम्म खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सहयोग रकम अझै आउने क्रम जारी रहेको समितिले जनाएको छ ।
आगामी कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगीदातालाई सम्मान गरिनुका साथै ताम्रपत्रमा नाम सहित आश्रममा विवरण समेत राखिने जनाईएको छ ।
आश्रमको बाँकी रहेको क्षेत्रमा निकट भविष्यमा सुन्दर बगैँचा (पार्क) को निर्माण गरिने, योगा, ध्यान केन्द्र, व्यायाम स्थल, मनोरञ्जन स्थल, संग्राहलय र आश्रममा बस्नेहरूको आर्थिक उपार्जनको लागि साना तथा घरेलु कृषि तथा सीप मूलक उद्योग स्थापना गर्ने उद्देश्य राखिएको छ ।
फल्लेवासी किरात खालिङ राई जातीको भाषा, संस्कार, संस्कृतिको संरक्षण, संवर्द्धन र उत्थानको लागि स्थापित फल्लेवास विकास समितिले खालिङ समुदायले वर्षमा ३ पटक पुज्ने उभौली, उँधौली वासलाई व्यवस्थित गर्ने, विवाह, मरन संस्कारलाई व्यवस्थित गर्ने, सांस्कृतिक क्षेत्रको भौतिक पुर्वधारको विकास गर्ने जस्ता कामहरू गर्दै आएको छ ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ मा अवस्थित फुलेली गाउँ अर्थात् फल्ले गाउँ खालिङ राईहरूको मुख्य बसोबास रहेको गाउँ छि गाउँ, चोप्धेम, तेस, देलबया, ओलोम, पुर्दु, याप्लु, सतप्य, ढिक गाउँलाई समग्रमा फल्ले गाउँ भनेर चिनिन्छ । फल्ले फुलेलीमा बसोबास गर्ने पहिलो खालिङ पुर्खाको नाम हो ।
फल्ले बाजेको दर सन्तान बसोबास गरेको गाउँ हो फल्ले गाउँ । फल्ले गाउँ पछि अपभ्रंश हुँदै फुलेली गाउँ हुन गएको पुरातन कथन छ ।