सोलुखुम्बु । सोलुखुम्बुको टाक्सिन्दुमा सुविधा सम्पन्न छात्रवासको उद्घाटन गरिएको छ ।
मोनभिसो फाउण्डेसनको समन्वयमा चेचीअन्लुस, ईसोनीदेबम्बीनी, ओत्तोपेरमीलेकेज वाल्देजे ईटालीको लगानीमा निर्माण गरिएको ८ कोठे तिन तले पक्की भवनको मंगलबार उद्घाटन गरिएको हो । १ करोड १९ लाख १६ हजार ३३९ रुपैयाँको लागतमा निर्माण गरिएको भवनको सोलुदुधकुण्ड नगपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, उपमेयर गान्धिमाया तामाङ, फाउण्डर चेचीअन्लुसले रिवन काटेर उद्घाटन गरेका हुन् ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले उद्घाटन पश्चात बोल्दै यो सहयोगले बालबालिकालाई सहज रुपमा शिक्षा आर्जनका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले मोदभिसो फाउण्डेसनले पुर्याएको योगदानको चर्चा गर्दै शैक्षिक गुणस्तर बृद्धिमा समेत होस्टेलले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सोलुदुधकुण्ड नगरपालिका १ का वडाध्यक्ष छोङ्बा शेर्पाले आफुले समुदायको विकासका लागि मोनभिसो फाउण्डेसनसँग समन्वय गरि काम गरिरहेको बताए । सोलुदुधकुण्ड ७ गार्माका वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले शिक्षामा गरेको लगानी कहिल्यै खेर नजाने भन्दै दिगोपना र व्यवस्थापनलाई ध्यान दिन आग्रह गरे ।
मोनभिसो फाउण्डेसनका अध्यक्ष छोङबा लामा शेर्पाले गरिब बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले छात्रवास निर्माण गरिएको बताएका छन् । पुर्व वडाध्यक्ष समेत रहेका छोङबाले सामाजिक काममा आफुले निरन्तरता दिईरहेको बताएका छन् । गरिब तथा असाहय बालबालिकालाई उचित शिक्षा दिनका लागि यो काम गरिएको उनको भनाई छ ।
मोनभिसो फाउण्डेसनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले छात्रबास निर्माणको आयव्यय समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा स्थानिय सांस्कृतिक नाँच समेत प्रस्तुत गरिएको थियो ।