७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

थुलुङ दुधकोशीमा शिक्षकको पेशागत विकास तालिम सुरु



सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा तीन दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ । गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा सोमबार देखि सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।
उद्घाटन पछि बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले समय समयमा धार लगाएको र नलगाएको बञ्चरोको उदाहरण दिदै शिक्षकको पेशागत विकास र शिक्षण सिकाइ क्रियाकलापमा परिवेश अनुसार निखारता ल्याउन समय समयमा तालिम आवश्यक पर्ने भएकोले तालिमको आयोजना गरिएको बताए ।

आफु निर्वाचित भएदेखिनै भौतिक विकास सँगै शिक्षा क्षेत्रलाई उत्तीकै महत्वका साथ अगाडी बढाएकै कारण पहिलेको तुलनामा पालिकाको शैक्षिक सुधार हुदै गएको र सिकाइ उपलब्धीमा पनि वृद्धि भैरहेको बताए ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीपराईले तालिमले पेशागत विकास हुने विश्वास व्यक्त गर्दै सक्रिय भएर सिक्नका लागि सहभागीहरुलाई आग्रह गरे । उक्त तालिममा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र प्रविधिलाई जोड दिइने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए ।

पालिकाभित्रका ९२ जना शिक्षकहरुको सहभागिता रहेको उक्त तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञहरु अभिषेक विक्रम शाह, अर्पण रेग्मी, राजीव ढुंगाना, बासु वाग्ले, सुजाता राईले गरिरहनु भएको नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।
कार्यक्रममा पालिका उपाध्यक्ष सबिता राई विभिन्न वडाका वडा अध्यक्षहरु र शिक्षा प्रमुख गणेश गुरुधामी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ०६ बजे