सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा ३ दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा पालिका अध्यक्ष खिलाराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सोताङका प्रमुख नरेन्द्र कुमार श्रेष्ठ, प्रहरी निरीक्षक एकनाथ भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई र वडा अध्यक्ष मानवीर राई, सोताङ पब्लिक क्याम्पस प्रमुख दधीराम धमला, वीरेन्द्रज्योति माविका प्रधानाध्यापक मोतीराम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पालिका प्रमुख बस्नेतले शिक्षकहरुलाई आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै शैक्षिक सुधारमा आफ्नो प्रमुख ध्यान रहेको बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि अनुरोध गरे ।
त्यस्तै नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले अंग्रेजी, गणित, विज्ञान विषयको सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयलाई फोकस गरेर तालिम संचालन हुने बताउदै सामाजिक र प्रविधीलाई पनि तालिममा समावेश गरिने बताए । तालिमले मार्ग निर्देशन मात्र गर्ने हुँदा बाँकी जिम्मेवारी शिक्षकको नै हुने बताउदै सिकाइमा सक्रियता साथ सहभागी भै व्यवहारमा पनि उतार्न आग्रह गरे ।
इलाका प्रशासन कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षले तालिम सफलताको शुभकामना व्यक्त गरे । पालिका भित्रका करिब ५० जना शिक्षकको उपस्थिति रहेको तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह, अर्पण रेग्मी, बासु वाग्ले र राजीव ढुंगानाले सहजीकरण गर्नेछन् ।
सोही कार्यक्रममा रीड नेपालबाट १६ जना विद्यार्थीलाई पालिका प्रमुख खिलराज बस्नेतको हातबाट छात्रवृत्ति वितरण गरिएको छ । उनहिरुलाई झोला, २ दर्जन कापी ,पेन पेन्सिल लगायत सरसफाइका सामग्री समेत वितरण गरिएको छ ।