७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

धादिङको धुनिवेशी नगरपालिकामा ‘क्लोथ बैँक’ स्थापना (फोटोफिचर)


१६ मंसिर २०८१, आइतबार  

150
Shares

काठमाडौँ । क्लोथ एण्ड फुड बैँक नेपालले धादिङको धुनिवेशी नगरपालिका परिसरमा ‘क्लोथ बैँक’ (कपडा बैँक)सञ्चालनमा ल्याएका छन् ।

‘कोही कपडा विहिन नरहुन्’ भन्ने द्येयले अघिल्लो वर्ष फागुन देखि बुटवलको एक नगरपालिकाबाट सुरु ‘क्लोथ बैँक’ स्थापनाको अभियानलाई धुनिवेशीमा महानायक राजेश हमालले उद्घाटन गरे ।

आइतबार आयोजित एक कार्यक्रममा महानायक हमालले ‘क्लोथ बैँक’ अवधारणा समाज सेवासँग जोडिएको भन्दै प्रयोगमा नआएका लत्ताकपडालाई ‘क्लोथ बैँक’मा जम्मा गरिदिन आग्रह गरे ।

नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागरिकको हितमा हुने जुनसुकै कार्यक्रम वा अभियानमा साथ दिन तयार रहेको दाबी गर्दै ‘क्लोथ बैँक’ले पनि विपन्न नगरबासीलाई सहयोग पुग्ने अपेक्षा राखे । ‘क्लोथ एण्ड फुड बैँक नेपाल’ले प्रशोधन केन्द्र स्थापना गर्ने योजना ल्याए नगरपालिकाले निशुल्क जग्गा उपलब्ध गराउने उद्घोष गरे ।

नगरपालिकाका उपप्रमुख सुरज उप्रेतीले ‘क्लोथ बैँक’ अभियान नागरिक मैत्री रहेकाले सफलताको शुभकामना व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले ‘क्लोथ बैँक’को अवधारणा परोपकारी सँगै वातावरण मैत्री भएकाले प्रयोगमा नआएका कपडा बैँकमा जग्गा गरिदिन अपिल गरे ।

यस अभियानका अवधारणाकर्ता कमल जिसी हुन् । उनका अनुसार अघिल्लो फागुनबाट सुरु अभियान हालसम्म १६० प्लस स्थानीय तहमा विस्तार गरिसकिएको छ ।

प्रयोगमा नआएका लत्ताकपडा संकलन गरी प्रशोधन तथा शुद्धिकरण गरि लगाउन मिल्ने कपडालाई आवश्यकताको आधारमा विपद पीडित समुदाय, विपन्न परिवारसम्म पुग्ने माध्यम ‘क्लोथ बैँक’ बन्न पुगेको क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष जिसीले बताए ।

‘क्लोथ बैँक’लाई धुनिवेशीका जनप्रतिनिधि र सरोकारवालाले राम्रो कार्यक्रमको रुपमा बुझेका छन् । नगर परिसरमा दुइ थान ‘क्लोथिङ ड्रप बक्स’को व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ३३ बजे