२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025

देउसामा निर्मित तोसीखोमको उद्घाटन


१८ बैशाख २०८२, बिहिबार  

2
Shares

थुलुङ दुधकोशी गाउँपालिका ७ लुचिमा उत्कृष्ट तथा नमुनायोग्य तोसीखोम निर्माण तथा व्यवस्थापन गरिएको छ । उक्त नवनिर्मित तोसीखोम (भुमेस्थान)को एक वृहत् कार्यक्रमका बिच उद्घाटन गरिएको छ । ई किमा नाप्च्युमिच्यु (याङकिमी)काम तोसिखोमको बिहीबार गाउँपालिका अध्यक्ष असीम राईले उद्घाटन गर्नुभएको तोसिखोमका अध्यक्ष श्रीप्रसाद राईले जानकारी दिनुभयो । 

वडा सरकारबाट विनियोजित दुई लाख बजेटबाट वडा नम्बर ७ को रिन्दापु, लुची, पोलोक्सी र लुम्लाय भित्रका ई किमा नाप्च्युमिच्यु (याङकिमी)काम तोसिखोम निर्माण गरिएको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार विनियोजित बजेट र स्थानीयको जनश्रमदानबाट तोसीखोम (भुमेस्थान) को प्राङ्गण, गेटसहितको घेराबार, शौचालय, खानेपानी, कठुवा, घ्याम्पा, भुम, चिन्डो र प्याराफिट सहितको अन्य संरचना निर्माण गरिएको छ।

उद्घाटन पछि कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असीम राईले स्थानीय सरकारको लगानीमा निर्माण हुने देवाली घर, गुम्बा, चर्ज र तोसीखोम (भुमेस्थान) लगायतको निर्माणले सामाजिक सद्भाव कायमका लागि महत्त्व राख्ने बताउनुभयो ।पालिका भित्र बसोबास गर्ने सबै जातजातिको धर्म, संस्कार संस्कृति संरक्षणका लागि आवश्यक संरचना निर्माण देखि अन्य कार्यक्रम सञ्चालनमा गाउँपालिकाले समान ढङ्गबाट बजेट व्यवस्था गरी काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । 

पूर्वाधार विकास सँगै सामाजिक विकासको क्षेत्रलाई विवाद रहित ढङ्गबाट सँगसँगै अघि बढाउन वडा नम्बर ७ सफल रहेको भन्दै अध्यक्ष राईले वडा सरकारको प्रशंसा गर्नुभयो । वडाले एक सक्षम तथा क्रियाशील नेतृत्व पाएको उल्लेख गर्दै  उहाँले संवृद्ध पालिका निर्माणमा टेवा पुग्ने गरी सबै क्षेत्रको विकासलाई उत्तिकै महत्वका साथ अघि बढाएको बताउनुभयो। 

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सविता राईले नवनिर्मित तोसीखोम (भुमेस्थान) जिल्लाकै नमुना रहेको बताउनुभयो । वडा सरकारले सबै क्षेत्रको विकासलाई सँगसँगै अघि बढाएको भन्दै उपाध्यक्ष राईले सक्षम नेतृत्वका कारण वडा नम्बर ७ संवृद्ध बन्दै गएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले वडावासी सबैले संवृद्ध  वडा निर्माणमा सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । वडाको चौतर्फी विकासमा जनप्रतिनिधिको योजनामा राजनीतिक दल सहित सिङ्गो समुदायले सहयोग गरेकै कारण सम्वृद्धीको यात्रामा अघि बढेको बताउँदै नागरिकको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा वडाले राखेको बताउनुभयो । 

पूर्व वडा अध्यक्ष रामसंघर्ष किराँतीले नमुना भुमेस्थान उद्घाटन भएको र वडा भित्र देवाली घर, चर्ज, गुम्बा र कलङ्की धर्म मान्ने समुदायको शिव मन्दिर समेत निर्माण भइरहेको पाइएको भन्दै वडा सरकारले चौतर्फी विकासलाई सँगसँगै अघि बढाएको पाइएको बताउनुभयो । समयको माग अनुसारको कार्यक्रमलाई वडाले अघि बढाउन सफल भएको भन्दै उहाँले वडाका जनप्रतिनिधि धन्यवादको पात्र बनेको बताउनुभयो । 

भुमेस्थान निर्माणमा सहयोग पाएपछि देउसाका थुलुङ समुदायले खुसी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । जिल्लामै उत्कृष्ट तोसीखोम निर्माण भएको भन्दै तोसीखोमका सचिव मिसन बाबु राईले स्थानीय सकारका नेतृत्वकर्तालाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : २६ बजे