शिक्षक तालिम सुरुमा दार्शनिक र धार्मिक नेताहरूले नैतिक र आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने विधि थियो। समयसँगै, शिक्षक तालिम संस्थागत हुँदै औपचारिक रूपमा विकास हुन थाल्यो। विश्वविद्यालयहरूको स्थापना पछि, शिक्षक तालिमका अवसरहरू विस्तार हुँदै नैतिक शिक्षा, कक्षा व्यवस्थापन र विषयगत ज्ञानमा आधारित तालिमहरू सुरू भए। शिक्षक तालिम सार्वजनिक उत्तरदायित्वको विषय बन्यो र राज्य तथा समाजको चासोको कुरा बन्यो। शैक्षिक सिद्धान्तहरूको विकाससँगै, परम्परागत ‘घोकन्ते’ शैलीबाट बालमैत्री, समावेशी, र विकासात्मक मनोविज्ञानतर्फ ध्यान केन्द्रित गर्न थालियो। आज, शिक्षक तालिममा समावेशी शिक्षा, लैंगिक समानता, ICT, ई-लर्निङ, प्रमाणमा आधारित सिकाइ, र सक्षमतामा आधारित तालिमको अभ्यास प्रमुख बनिसकेको छ।
नेपालको संविधानले निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने प्रावधान गरेको छ। School Education Sector Plan (SESP) ले सक्षमतामा आधारित, समयानुकूल, समावेशी र मिश्रित सिकाइमा जोड दिएको छ। शिक्षक सक्षमता प्रारूप, २०७२ तथा प्रधानध्यापक सक्षमता प्रारूप, २०८१ मा दक्षता, Instructional Leadership र समावेशी शासन (Inclusive Governance) जस्ता विषयहरू समेटिएका छन्। TPD प्रारूप अनुसार पनि शिक्षकहरूलाई वार्षिक रूपमा तालिम दिने व्यवस्था गरिएको छ जसमा आमनेसामने (Face to Face), अनलाइन र विद्यालयमा आधारित तालिमको संयोजन गरिएको छ। शिक्षक सेवा आयोगले शिक्षकको लाइसेन्सिङ (Licensing) र निरन्तर व्यावसायिक विकास (CPD) को परिकल्पना गरेको छ। तालिम कार्यान्वयनका लागि पहिलो चरणमा तालिमको आवश्यकता पहिचान (Training Needs Assessment – TNA) अर्थात् पूर्व परीक्षण (Pre-test) समेत समावेश गरिएको छ।
तालिमका सिकाइ उद्देश्यहरू स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, तालिम विषयवस्तु कम्तीमा २०% स्थानीय सन्दर्भमा आधारित बनाउनुपर्ने तथा तालिम योजना पालिका र प्रदेश सरकारको नेतृत्वमा तयार गरिने कुरा पनि उल्लेख गरिएको छ।स्थानीय तह (R/M) स्तरको, विद्यालय समूहमा आधारित तालिमको प्रवर्द्धन पनि गर्न सकिने, साझेदारी गरेर पनि गर्न सकिने, अर्थात् PPP (Public Private Partnership) मा पनि गर्न सकिने वा NGO, विकास साझेदारहरू (Development Partners – DPs) र निजी संस्थाहरू (Private Institutions) सँगको सहकार्यमा पनि गर्न सकिने तथा नवप्रवर्तनका लागि उक्त मोडेललाई प्रयोग गर्न पनि सकिने व्यवस्था राखिएका छन्।शिक्षकहरूको मनोबल (Wellbeing) र प्रेरणा (Motivation) का लागि तनाव व्यवस्थापन (Stress Management) र आत्म-हेरचाह (Self-care) जस्ता मोड्युलहरू समेत समावेश गरिने कुरा व्यवस्था गरिएको छ। त्यससँगै, समावेशी उत्कृष्टता पुरस्कार (Inclusive Excellence Award) को पनि परिकल्पना गरिएको छ।
यसरी, शिक्षकका लागि निर्धारण गरिएका मुख्य क्षमतालाई नियालेर हेर्दा, शिक्षकहरू आफ्ना विषयवस्तुमा अद्यावधिक रहनुका साथै बालमैत्री शिक्षण विधिमा निपुण हुनु पर्ने कुरा उल्लेख गरिएको छ। बदलिंदो परिस्थितिअनुसार सिकाइलाई रमाइलो, सरल र प्रभावकारी बनाउन सक्ने, बालबालिकाको मनोविज्ञान, रुचि र गति बुझेर शिक्षण गर्ने क्षमता भएको, बालबालिकाको वर्तमान सिकाइ अवस्था र पाठ्यक्रमका अपेक्षाहरूलाई सम्बोधन गर्न सक्ने, सकारात्मक सोच र दृष्टिकोण राख्ने, नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा विविधतायुक्त कक्षा वातावरण निर्माण गर्न सक्ने, त्यस्तो वातावरणमा बालमैत्री, लैंगिक उत्तरदायी, विपद् उत्तरदायी, अपाङ्गता मैत्री, रचनात्मक तथा निरन्तर मूल्याङ्कन प्रणालीलाई व्यवहारमा उतार्न सक्ने, सिकाइ अवस्था पहिचान गरी उपचारात्मक शिक्षण गर्न सक्ने र पाठ्यक्रमका उद्देश्यहरूमा आधारित सिकाइ सामग्रीहरू निर्माण गर्न सक्ने क्षमता शिक्षकहरूबाट अपेक्षा गरिएको देखिन्छ। साथसाथै, शिक्षकले ‘सामाजिक रूपान्तरणको मेरुदण्डका रूपमा’ सबैसँग प्रभावकारी सञ्चार र सहकार्य गर्दै गुणस्तरीय सिकाइ प्रवर्द्धन गर्न सक्ने, सिकाइ जीवनपर्यन्त चलिरहने प्रक्रिया भएकाले निरन्तर स्व-निर्देशित सिकाइ र पेशागत विकासप्रति प्रेरित रहन सक्ने क्षमताहरू पनि शिक्षकबाट अपेक्षा गरिएका छन्। त्यसैगरी, शिक्षकले नेपाल सरकारका नीति, नियम, कानून तथा पाठ्यक्रमलाई उच्च नैतिक मूल्यका साथ लागू गर्न सक्नुपर्ने तथा सूचना तथा सञ्चार प्रविधिको एकीकरण गरी प्रभावकारी रूपमा सिकाउन सक्ने क्षमताको अपेक्षा पनि गरिएको छ।
प्रधानाध्यापकहरूले, आफ्नो शैक्षिक नेतृत्वद्वारा विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न सक्षम हुनु पर्ने कुरा अपेक्षा गरिएको छ। विद्यालयको दीर्घकालीन योजना, स्रोत व्यवस्थापन, रणनीतिक सोच र प्रशासनिक व्यवस्थापनमा दखल राख्नुपर्ने कुरा पनि छ। अभिभावक तथा समुदायसँग प्रभावकारी समन्वय कायम गर्दै विद्यालय र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न सक्ने क्षमता वा नेतृत्व अपेक्षा गरिएको छ। विद्यालय व्यवस्थापन गर्दा समावेशी गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै, विद्यार्थीको समग्र शैक्षिक, सामाजिक, भावनात्मक र नैतिक विकासका आयामहरूलाई सम्बोधन गर्ने रणनीति तयार गरेर विद्यार्थीको कल्याण, अनुशासन र सुरक्षा सुनिश्चित गर्दै, खण्डीकृत तथ्याङ्क विश्लेषणका आधारमा निर्णय गर्न सक्ने र आफ्नो नेतृत्वद्वारा विद्यालयको समग्र सुधारमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने योग्यताको अपेक्षा गरिएको छ।
यस परिप्रेक्ष्यमा, शिक्षक तालिममा एक दशकको सहयात्रिको दृष्टिकोणबाट हेर्दा, २१औं शताब्दीका बालबालिकाका मागलाई सम्बोधन गर्न, शिक्षकले आफूले पढाउने विषयको गहिरो ज्ञान राख्न त पर्छ नै, सँगसँगै त्यो ज्ञान अद्यावधिक (updated) वा समसामयिक, बाल मनोविज्ञानमा आधारित तथा चाखलाग्दो पनि हुनु पर्ने हुन्छ। अहिलेको परिस्थिति वा समयलाई हेर्दा केवल जानकारी वा विषयवस्तुको ज्ञानमा प्रखर हुनु मात्र पर्याप्त छैन बरु त्यो जानकारीलाई शिक्षण सिकाइ प्रक्रियामा कसरी बालमैत्री तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने क्षमता अब अपरिहार्य भइसकेको छ।
बदलिंदो वातावरणमा बालबालिकाका चाहना र सोच पनि बदलिएका छन्। एउटा Finger Print मा संसार भरिको सूचना बालबालिकाको हातमा छ। शिक्षक, बालबालिकाको मनोविज्ञान बुझ्न सक्ने हुनुपर्छ । बालबालिकाको रुचि, गती, र सन्दर्भलाई सम्मान गर्दै सिकाइलाई रमाइलो र उपयोगी बनाउन सक्ने दक्षता राख्नुपर्छ। आजको बदलिंदो समय र विविधताले भरिएको कक्षाकोठामा, शिक्षकले लिङ्ग, भाषा, जात, अपाङ्गता, वर्ग, संस्कृति, आदिलाई सम्बोधन गर्न सक्ने क्षमता राख्नुपर्छ। सिकाइको विविध आवश्यकताहरू बुझ्दै, बालमैत्री, समावेशी, लैंगिक उत्तरदायी, अपाङ्गता मैत्री, र विपद् उत्तरदायी शिक्षण पद्धति अपनाउने र मूल्यांकन प्रणालीलाई पनि सान्दर्भिक रूपमा लागू गर्न सक्ने योग्यता हुन आवश्यक छ। शिक्षकले, केवल पाठ्यपुस्तकमा आधारित सामग्री मात्र प्रयोग नगरी, पाठ्यक्रमका उद्देश्यअनुसार सामग्रीको सिर्जनात्मक निर्माण र प्रयोग गर्न सक्ने हुनुपर्छ। शिक्षकहरू सामाजिक रूपान्तरणका मेरुदण्ड हुन । अब शिक्षक, स्व-प्रेरित सिकाइका लागि सधैं तत्पर रहनुपर्छ र निरन्तर पेशागत विकासमा संलग्न हुनुपर्छ।
यी र यस्ता परिस्थितिलाई सहजिकरण गर्न, समय अनुसार, तालिमका तरिकाहरू पनि पुनः संरचित गर्न आवश्यक भई सकेको छ। तेसै अनुरूप, शिक्षक प्रशिक्षणमा पनि विषयको गहिरो ज्ञान हुनु मात्र पर्याप्त हुँदैन। त्यो ज्ञानलाई , सहजीकरणको माध्यमबाट सरल तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता हुन जरुरी छ। जटिल कुरा सहज बनाइदिन सक्नु नै उत्कृष्ट प्रशिक्षकको पहिचान हो। आधुनिक तालिमका प्रवृत्तिहरू, नीतिहरू र शिक्षण शैलीहरूसँग Updated रहनाले आत्मविश्वासी बनाउँछ। विषयवस्तुको सम्प्रेषण केवल बोलीले मात्र नभई, स्पष्ट, आत्मविश्वासपूर्ण र सहभागिता आकर्षित गर्ने शैलीमा हुनुपर्छ । प्रशिक्षण कुनैपनि हालतमा एकतर्फी हुनु हुँदैन। सहभागीलाइ सुन्ने, उनीहरूको जिज्ञासामा गम्भीरतापूर्वक ध्यान दिने र सुस्पष्ट जवाफ दिने क्षमताले तालिम केवल प्रभावकारी मात्र होइन , जीवन्त पनि बनाउँछ। उपयुक्त शारीरिक हाउभाउ, स्वरको लय (Tone) र सान्दर्भिक उदाहरणहरू प्रयोग गर्दा प्रशिक्षक स्वयं पनि सशक्त र उर्जावान महसुस गर्छ।
प्रशिक्षण सधैं सहभागीकेन्द्रित हुनुपर्छ। सहभागीको स्तरअनुसार वयस्क सिकाइका सिद्धान्तहरूको प्रयोग गर्नुपर्छ। ‘एन्ड्रागोजी’ को ज्ञानले तालिम डिजाइन र सञ्चालनमा मद्दत पुर्याउँछ। जति बढी छलफल, अन्तरक्रिया र पुनरावलोकन हुन्छ, त्यति नै प्रशिक्षण प्रभावकारी र स्मरणीय हुन्छ। आवश्यकताअनुसार विषयवस्तुमा लचकता अपनाउने र समय व्यवस्थापनमा ख्याल गर्ने कुरा तालिमपूर्व- तयारीमै विशेष ध्यान दिनुपर्छ।
प्रशिक्षकले, सधैं परिस्थितिलाई बुझेर तालिम सञ्चालनमा लचकता अपनाउन सक्नुपर्छ। कुनै एक तरिकाले काम नगरेमा नयाँ विधि अपनाउने आत्मसाहस पनि राख्नुपर्छ। समूहको गतिशीलता, चुनौतीहरू र विविधतालाई सम्बोधन गर्न पूर्वतयारीमा विशेष ध्यान दिनुपर्छ। सहभागीप्रति सहानुभूति र भावनात्मक समझदारी (Emotional Intelligence) राख्नुपर्छ। सहभागीको पृष्ठभूमि, क्षमता, चुनौतीलाई बुझ्ने र त्यसअनुसार वातावरण बनाउने हो भने तालिम प्रभावकारी बन्छ। अभिनय, समूह कार्य, संवाद, साथीबाट सिकाइ (Pair Learning) आदि जस्ता सहभागीमुखी तरिका अपनाएर तालिमलाई गतिशील बनाउन सकिन्छ। प्रशिक्षकले, समूहको ऊर्जा व्यवस्थापन र असहमतिहरूलाई पनि बुद्धिमत्तापूर्वक सम्बोधन गर्न सक्नुपर्छ। साथै, मूल्यांकन र प्रतिक्रिया (Feedback) दिने सीप पनि प्रशिक्षकमा हुन जरुरी हुन्छ। पूर्वपरीक्षण (Pre-test) र पश्चात परीक्षण (Post-test), पुनरावलोकनका प्रश्नहरू, खेल र सहभागीको बुझाइ परीक्षण गर्ने विविध तरिका जान्नुपर्ने हुन्छ।
प्रशिक्षणमा प्रयोग गरिने भाषा समावेशी हुनुपर्छ। संस्कृति र सामाजिक विविधताको सम्मान अत्यन्तै जरुरी हुन्छ। लिङ्ग, जात, भाषा, अपाङ्गता वा विविधतालाई सम्बोधन गर्दा सहभागीहरू तालिमप्रति सकारात्मक हुन्छन्। सुरक्षित र सम्मानजनक वातावरण बनाउनु प्रशिक्षकको एक प्रमुख दायित्व पनि हो। सधैं समयमै पुग्ने, तयारीसहित जाने, सहभागीको अनुभव र ज्ञानलाई सम्मान गर्ने, नैतिकता र तटस्थता प्रदर्शन गर्न सक्ने, उदाहरणमार्फत छलफललाई नेतृत्व गर्ने कुराहरू असल प्रशिक्षकका चिनारी हुन्। प्रशिक्षकले, सहभागीलाई विषयवस्तु र सहजिकरण मार्फत चाहिएको परिवर्तन गर्न सक्नुपर्छ।
शिक्षा क्षेत्रको प्रशिक्षकले सधैं शिक्षकहरू, प्रधानाध्यापकहरू, विद्यालयका नेताहरू तथा शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको मुख्य जिम्मेवारी र आवश्यकतालाई केन्द्रमा राखेर योजना बनाउने र सोअनुसार प्रशिक्षण कार्य गर्नुपर्छ। शिक्षा पाठ्यक्रमका आधारमा तालिमको पाठ्यक्रम विकास गर्ने, तालिम सञ्चालन गर्ने, कोचिङ, मेंटरिङ र प्रतिबिम्बनमार्फत वयस्क शिक्षण सिद्धान्तहरू (Adult Learning Principles) प्रयोग गरी सक्रिय सिकाइको सहजता प्रदान गर्नु पर्छ।
साथसाथै, तालिम सञ्चालनको लागि बहुउद्देश्यिक सरोकारवालासँग सम्बन्ध बनाउन सक्ने कला पनि प्रशिक्षकमा हुनु पर्छ। प्रशिक्षकहरूले , पूर्व सेवाकालीन शिक्षकहरू, सेवा कालीन शिक्षकहरू वा कार्यशाला तथा तालिम कोर्सहरूमा सहभागी शिक्षकहरू, शिक्षा अधिकारी, शिक्षा प्रशासकहरू साथै सरकारी वा गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरूसँग पनि प्रभावकारी ढंगले कार्य गर्न सक्ने क्षमता राख्नुपर्छ ताकि अपनत्व र स्रोतको समुचित प्रयोग पनि सुनिश्चित गर्न सकियोस्।
प्रशिक्षकले ‘वयस्कहरू कसरी सिक्छन्’ भन्ने कुरा बुझ्नै पर्छ। वयस्कहरू सिकाइको जिम्मेवारी लिन चाहन्छन्। उनीहरू आफ्नो आवश्यकता र गति अनुसार (Self-Directed Learning) सिक्न चाहन्छन्। वयस्कहरूसँग व्यापक व्यक्तिगत तथा व्यावसायिक अनुभवहरू हुन्छन्। तसर्थ, तालिममा उनीहरूको अनुभवको सम्मान गर्न, समावेश गर्न र त्यसलाई सिकाइको आधार बनाउन आवश्यक हुन्छ।
वयस्क सहभागीहरू ‘म किन यहाँ छु?’ भन्ने प्रश्नमा धेरै केन्द्रित हुन्छन्। उनीहरू जहिले पनि स्पष्ट उद्देश्य वा समस्याको समाधान खोजिरहेका हुन्छन्। त्यसैले, प्रशिक्षकहरूले तालिमलाई उद्देश्यकेन्द्रित र यथासम्भव व्यावहारिक बनाउन प्रयत्नशील हुनुपर्छ। वयस्कहरू सैद्धान्तिक ज्ञानभन्दा पनि आफूले तुरुन्तै प्रयोग गर्न सक्ने व्यवहारिक र समस्याको समाधान गर्ने विचारहरूमा बढी रुचि राख्छन्। तालिम सञ्चालन गर्दा सहभागीहरूबीच आपसी सम्मान, विश्वास र सहकार्ययुक्त वातावरण निर्माण गर्नुपर्छ। तालिमलाई, बाह्य प्रेरणाभन्दा बढी पेसागत सन्तुष्टि, व्यक्तिगत र व्यावसायिक विकासमा जोड दिएर सञ्चालन गरिएमा त्यो दीगो र प्रभावकारी हुन्छ। त्यसैले, प्रशिक्षकले सहभागीको परिवर्तनीय यात्रालाई सहज, सम्मानजनक र उद्देश्यपूर्ण बनाउने कला पनि राख्नुपर्छ।
शिक्षकको तालिम, जहिले पनि विद्यार्थीको सिकाइसँग जोडिनुपर्छ वा सिकाइ लक्ष्यहरूसँग स्पष्ट रूपमा मेल खाने (Clear Alignment with Learning Goals) हुनुपर्छ। तालिम सञ्चालन गर्नु अघि सहभागीहरूको आवश्यकताको गहिरो अध्ययन नगरी तालिम प्रभावकारी हुन सक्दैन। सहभागीहरूको पृष्ठभूमि, अनुभव र सिकाइ आवश्यकताहरूको पहिचान अनिवार्य छ। तालिममा ज्ञान (Knowledge), सीप (Skills), दृष्टिकोण (Attitudes) र मूल्य (Values) मा के परिवर्तन ल्याउने हो भन्ने कुरा तालिम अगाडि नै स्पष्ट हुनुपर्छ। तालिम पूर्वको तयारी, जस्तै, तालिम सामग्री, स्थान, उपकरण, पहुँच (Accessibility) र बजेटसम्बन्धी पक्षहरूको पनि स्पष्ट विश्लेषण हुनुपर्छ। यसले, तालिम सञ्चालनलाई सजिलो र व्यवस्थित बनाउँछ।
तालिमको सुरुआत Rapport Building बाट गरेमा वातावरण मैत्रीपूर्ण हुन्छ। तालिम किन सञ्चालन गर्न लागिएको हो, यसका उद्देश्यहरू के हुन् र Expected Outcomes के के हुन् भन्ने कुरा स्पष्ट रूपमा सहभागीहरूसँग भनिदिनु पर्छ। त्यस्तै, सहभागीहरूले तालिमबाट के के अपेक्षा गरेका छन् भन्ने कुरा पनि खुला संवादद्वारा बाहिर ल्याउनुपर्छ। तालिम सफल बनाउन आधारभूत नियमहरू (Ground Rules) को ठूलो भूमिका हुन्छ। सहभागीहरूसँग सहमति गर्दै नियम बनाउँदा, तालिम अवधिभर सक्रियता, आपसी सम्मान र सहकार्य सुनिश्चित गर्न सकिन्छ।
तालिम सञ्चालन गर्दा केवल प्रवचन मात्र दिने परम्परागत शैलीमा सीमित रहनु हुँदैन। सहभागीलाई, निष्क्रिय श्रोताको भूमिकामा राख्दा तालिम प्रभावकारी हुँदैन। “उनीहरू केही जान्दैनन्” भन्ने धारणा राख्नु सबैभन्दा गलत हो। एउटै विधि सबैमा लागू हुन्छ भन्ने सोच्नु पनि तालिमलाई अर्थहीन बनाउनु हो। समय व्यवस्थापन नगरी तालिम लम्ब्याउनु हुँदैन। यसले, सहभागीको योगदान र समयलाई अवमूल्यन गर्छ। प्रश्न गर्न डर लाग्ने वातावरण बनाउनु र अत्यधिक सैद्धान्तिक विषयवस्तु मात्र राख्नु हुँदैन।
सेसन डिजाइन गर्दा, सहभागीहरूको Engagement मा विशेष ध्यान दिनुपर्छ। जस्तै, प्रश्नहरू सोध्ने, कथा सुनाउने, खेल खेलाउने जस्ता गतिविधिहरू सहभागीहरूको ध्यान केन्द्रित गर्न सहयोगी हुन्छन्। सेसन, सहभागीहरूको पूर्वज्ञान र कक्षा को यथार्थ (Classroom Realities) सँग जोडिनुपर्छ। दिन चाहेको मुख्य सन्देश वा सीपलाई Hands-on Activities वा समूह कार्यहरू, केस स्टडी, अभिनय वा समस्या समाधान जस्ता गतिविधिबाट प्रस्तुत गर्दा सहभागी सक्रिय रूपमा संलग्न हुन्छन्। प्रमुख सिद्धान्तहरू वा सामग्रीलाई Visuals, Video, Charts लगायत विभिन्न Learning Resources वितरण गरेर पनि बुझाउन सकिन्छ। सहभागीहरू फरक फरक सिकाइ शैली भएका हुन्छन्। तसर्थ, Visual, Auditory, Kinesthetic विधिहरूको संयोजन तालिममा गरिनुपर्छ। कसैलाई Visual (चार्ट, PPT, Diagram) मन पर्न सक्छ भने, कसैलाई Auditory (वार्ता, छलफल, कहानी) मन पर्न सक्छ तथा कसैलाई Kinesthetic (व्यावहारिक कार्य, चलायमान गतिविधि, खेल, गीत, नृत्य) मन पर्न सक्छ। त्यसैले, परिस्थितिजन्य निर्णय गर्न सक्नु पनि प्रशिक्षकको गुण हो।
तालिमलाई समूह कार्य, थिङ्क-पेयर-सेयर, ग्यालरी वाक, गीत र खेल जस्ता सहभागीमूलक गतिविधिबाट जीवन्त बनाउन सकिन्छ। सहभागीहरूलाई चयनको अवसर र स्व-नेतृत्वयुक्त सिकाइका तरिकाबाट सक्रिय बनाउन सकिन्छ। उनीहरूको अनुभव र पूर्वज्ञानलाई समेट्दा सिकाइ अझ व्यवहारिक र सान्दर्भिक हुन्छ। प्रशिक्षकले सहभागीको रुचि, स्तर र सिकाइ शैली अनुसार सेसन अनुकूलन गर्नुपर्छ।प्रत्येक सेसनको अन्त्यमा छोटो पुनरावलोकन, प्रमुख बुँदाहरूको चर्चा तथा आत्ममूल्यांकन, समकक्षी प्रतिक्रिया वा अन्तरक्रियात्मक प्रश्नोत्तर गर्न सकिन्छ। सहभागीहरूलाई प्रतिबिम्बन लेख्न, डायरी लेखन र नियमित प्रतिक्रिया दिन प्रोत्साहन गर्नुपर्छ।
तालिमपछि डिजिटल वा मुद्रित स्रोतहरूको आदानप्रदान एवं कम्युनिटी अफ प्राक्टिसको निर्माणले सिकाइलाई निरन्तरता दिन्छ। मेन्टोरिङ, कोचिङ र फलोअप प्रणालीले पनि तालिमलाई दिगो बनाउन मद्दत गर्छ।तालिम लैङ्गिक, जातीय, सामाजिक, भौतिक विविधता समेट्ने गरी समावेशी हुनुपर्छ। लैङ्गिक उत्तरदायी भाषा, बहुभाषिकता र सांस्कृतिक विविधतालाई सम्मान गर्नुपर्छ। सूचना प्रविधि (ICT) को समावेशी प्रयोग, ‘UDL र समावेशी मूल्याङ्कन’ तालिमको अनिवार्य हिस्सा बनाउँदा शिक्षामा समावेशिता मूलप्रवाहीकरण गर्न मद्दत पुग्छ।
कार्यशाला, सेमिनार, जोडीमा सिकाइ, ई-लर्निङ लगायतका माध्यमबाट पनि सिकाइलाई दीर्घकालीन बनाउन सकिन्छ। समुदायको संलग्नता र स्थानीय सहकार्यले तालिमलाई सशक्त र दिगो बनाउँछ। नजिकका शिक्षकबीच सहशिक्षण, समूह छलफल, अवलोकन लगायतका अभ्यासहरूबाट पनि तालिम प्रभावकारी र दिगो हुन्छ। तालिमका राम्रा अभ्यासलाई शिक्षा नीतिमा समाहित गर्नाले तथा नियमित प्रतिबिम्बनले तालिमलाई अझ बढी संस्थागत बनाउँछ।
शिक्षा सुधारको प्रमुख माध्यम शिक्षक तालिम पनि हो। समावेशी र डिजिटल प्रविधिको सहकार्यमा आधारित ‘शिक्षकहरूको पेशागत सशक्तिकरणमा’ केन्द्रित तालिमले मात्र सिकाइको स्तरमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। शिक्षक तालिम, विद्यार्थीको सिकाइ शैली, आवश्यकता र पृष्ठभूमि अनुसार गर्नुपर्छ। IEMIS विश्लेषणमा आधारित सिकाइ बाटाहरु विकास गर्ने तालिम एकदमै आवश्यक छ। मुख्य दक्षता विकासमा केन्द्रित र डिजिटल माध्यम (जस्तै: Moodle, Zoom, Google Classroom, Khan Academy) प्रयोग गरेर कम लागतमा प्रभावकारी तालिम सञ्चालन गर्नु पनि पर्छ।
तालिमले सिकाइ र मूल्यांकनका सर्वव्यापी ढांचा, उपचारात्मक शिक्षण जस्ता महत्त्वपूर्ण आयामहरू पनि समावेश गर्नुपर्छ। २१औं शताब्दीका सीपहरूको विकास पनि तालिमको मुख्य अंश हुनुपर्छ। पर्यावरणीय दृष्टिकोणबाट सचेत अभ्यासहरूलाई कसरी एकीकृत गर्ने र विद्यार्थीहरूमा स्थिरता (Sustainability) को सन्देश कसरी फैलाउने भन्ने कुरामा पनि तालिमले ध्यान दिन आवश्यक छ। शिक्षक तालिम केवल विषयवस्तु र प्रमाणपत्रमा केन्द्रित हुनु हुँदैन यसले शिक्षकको पेशागत रूपान्तरणमा प्रेरणा दिनु पर्छ। शान्ति, न्याय, ICT, समावेशिता, नवप्रवर्तन र स्थिरता जस्ता विषयहरू तालिमको अनिवार्य अंश बनाउनु पर्छ। निचोडमा, शिक्षक तालिममार्फत शिक्षा क्षेत्रको अग्रगामी रूपान्तरण गर्न सकिन्छ भन्ने कुरामा कुनै द्विविधा छैन।
-गीता सुवेदी (get2gita@hotmail.com)