काठमाडौँ । टोखा नगरपालिका ४ धापासी हाइट स्थित रैथाने एग्री प्रडक्टस् नेपाल परिसरमा सम्पन्न बृहत् कृषि मेलामा उत्कृष्ट कृषि उद्यमी पुरस्कृत भएका छन् । गत शुक्रवार लागेको मेलामा आफ्ना उत्पादन सहित सहभागी बनेका पचास भन्दा बढी उद्यमीमध्ये मूल्याङ्कनको आधारमा उत्कृष्ट उद्यमीलाई नगद सहित पुरस्कृत गरिएको हो ।

मेलामा सहभागी चन्द्रागिरि नगरपालिका ५ का पश्चिम भेगिय आइपिएम कृषक समूह प्रथम भएको छ । उक्त समूहले नगद १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, नर्सरी तथा कौसी खेती प्रवर्द्धन गर्दै आएको नेपाल थोपा सिँचाइ प्रा.ली.द्वितीय हुँदै प्रमाण पत्र सहित नगद १० हजार प्राप्त गरे । इन्द्रेणी घरेलु उद्योगकी वसुन्धरा श्रेष्ठले तृतीय पुरस्कार हात पारिन् । उनलाई नगद ५ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।

मेलामा सहभागी उद्यमीलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रमाण पत्र कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले प्रदान गरेका थिए । महानिर्देशक सन्जेलले रैथाने उत्पादनमा उद्यमीलाई प्रोत्साहनका लागि आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताए ।
मेलाको उद्घाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले स्वास्थ्य महत्त्वपूर्ण रहेकाले रैथाने उत्पादन उपभोग गर्ने बानीको विकास गर्न आग्रह गरे । विश्व प्रकृति संरक्षण नेपालका अध्यक्ष तिलक ढकालले मेला उत्पादन खरिद बिक्री सँगै सिकाइको थलो बनेको भन्दै नेपालीको भान्सा सुधार आवश्यक रहेको बताए ।

स्थानीय स्तरमा उत्पादन भएका पञ्चगुणिय तत्त्वले भरिपूर्ण कृषि उत्पादनहरू, नेपाली मौलिक सिप र ज्ञानमा आधारित हस्तकला तथा बस्तुहरूको प्रवर्द्धन, उपभोक्ता र बिक्रेता बिच सिधा सम्पर्क स्थापित गराई दिगो बजारीकरणमा टेवा पुर्याउने हेतुले आयोजित मेलामा बीउ बिजनको प्रदर्शनी तथा बिक्री, जलवायुमैत्री कृषि प्रविधि तथा औजारहरूको प्रदर्शनी तथा बिक्री, कौसी खेती प्रविधि जानकारी एवं सामग्री प्रदर्शनी तथा बिक्री तथा समुदाय विशेष परिकारहरूको प्रदर्शनी आकर्षणको रूपमा रहेका थिए ।

त्यस्तै, रैथाने तथा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा बिक्री, दुग्धजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री, मही संस्कृति र त्यसको उपयोगिताबारे जानकारी र परम्परागत प्रविधिहरू ढिकी, जाँतो, ओखल र घट्ट सञ्चालन गर्ने अभ्यास र अवलोकनको वातावरण तयार पारिएको थियो ।
बृहत् कृषि मेला आयोजनामा कृषि विभाग, पशुपंक्षि विकास मन्त्रालय बागमती प्रदेश, टोखा नगरपालिका र रैथाने एग्री प्रडक्टस् नेपालले सहकार्य गरेका थिए ।

























