सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा मातृभाषा कविता तथा गीत महोत्सव २०८३ आयोजना हुने भएको छ। थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी असार १९ गते महोत्सव सञ्चालन गरिने जनाइएको छ। उक्त सूचना गाउँपालिकाले सार्वजनिक गरेको हो।
प्रतिष्ठानका अनुसार महोत्सवलाई समावेशी, सहभागितामूलक र बहुभाषिक बनाइनेछ। स्थानीय मातृभाषामा सिर्जना भएका कविता तथा गीतमार्फत भाषा, साहित्य, संस्कृति र ज्ञान परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै स्थानीय स्रष्टाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
सूचनाअनुसार सबै भाषाका लेखक तथा स्रष्टाहरूले सहभागिता जनाउन सक्नेछन्। मातृभाषामा लेखिएका कविता वा गीत नेपाली भाषामा अनुवाद गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ। सहभागीले आफ्नो ठेगाना, सम्पर्क नम्बर र फोटो समेत उपलब्ध गराउनुपर्नेछ। प्राप्त रचनाहरू प्रतिष्ठानको स्मारिकामा प्रकाशन गरिने जनाइएको छ।
प्रतियोगिताका लागि कविता तथा गीत प्रिति फन्टमा टाइप गरी असार १५ गतेभित्र पठाइसक्नुपर्नेछ। कार्यक्रम असार १९ गते बिहान ११ बजेदेखि थुलुङ दुधकोशी गाउँपालिकाको सभा हलमा सञ्चालन हुनेछ। सहभागी सबै कवि तथा गीतकारलाई प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था समेत गरिएको प्रतिष्ठानका अध्यक्ष सुवास सङ्गम राईले जानकारी दिएका छन्।
कविता तथा गीत पठाउन इच्छुक स्रष्टाहरूले subassn04@gmail.com मा इमेल गर्न वा सम्पर्क नम्बर ९८५२००४५५५ मा सम्पर्क गर्न सक्नेछन्।

























