काठमाडौं — सोलुखुम्बुका युवा उद्यमी तथा स्नो सञ्चार प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्भव राउत नेपालका सबैभन्दा कान्छा इभेन्ट अर्गनाइजर (Youngest Event Organizer) का रूपमा सम्मानित भएका छन्।
डिजिटल वालेट ‘माइ पे’ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै १९ वर्षकै उमेरमा विभिन्न सौन्दर्य प्रतियोगिता, प्रतिभा प्रदर्शन कार्यक्रम, सांस्कृतिक उत्सव तथा युवा लक्षित कार्यक्रमहरूको सफल आयोजना गरेको योगदानको कदर गर्दै राउतलाई उक्त सम्मान प्रदान गरेको हो।
राउतले छोटो समयमै सोलुखुम्बु, ओखलढुंगा, काठमाडौं, ललितपुर, कास्की तथा तनहुँलगायत विभिन्न जिल्ला र शहरहरूमा सफलतापूर्वक कार्यक्रमहरू आयोजना गर्दै इभेन्ट व्यवस्थापन क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्।
यसअघि पनि उनी सौन्दर्य प्रतियोगिता तथा प्रतिभा प्रदर्शन कार्यक्रममार्फत चर्चामा आएका थिए। नेपालमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि थाइल्यान्डमा सम्पन्न ‘टिन स्टार इन्टरनेशनल’मा सहभागी भई ‘बेस्ट मोडल’को उपाधि समेत जित्न सफल भएका थिए।
युवा उमेरमै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका राउतलाई धेरैले नेपालको उदीयमान युवा इभेन्ट आयोजकका रूपमा चिन्ने गरेका छन्। उनले विभिन्न कार्यक्रममार्फत युवाहरूको प्रतिभा पहिचान, क्षमता विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवसरहरू सिर्जना गर्न योगदान पुर्याउँदै आएका छन्।
आगामी दिनमा नेपालका प्रतिभाशाली युवाहरूलाई देशका विभिन्न जिल्लासहित अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य रहेको राउतले बताएका छन्।
१९ वर्षको उमेरमै इभेन्ट व्यवस्थापन क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका सम्भव राउत युवा पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएको पाइन्छ ।

























