काठमाडौं । गोकर्णेश्वर नगरपालिका ले किसानलाई कृषि पेशातर्फ आकर्षित गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ६७ वटा हाते ट्र्याक्टर वितरण गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले वडा नं. ४ स्थित कृषि शाखाको कार्यालयमा आज आयोजित कार्यक्रममा किसानहरुलाई हाते ट्र्याक्टर वितरण गरेको हो।
कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा लगायत जनप्रतिनिधि, कर्मचारी तथा किसानहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले कृषिलाई व्यवसायिक, आधुनिक तथा उत्पादनमुखी बनाउन नगरपालिका निरन्तर लागिरहेको बताए। उनले कृषकको लागत घटाउँदै उत्पादन वृद्धि गर्न यस्ता अनुदानमुखी कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उपप्रमुख लामाले किसानको मेहनत र कृषि उत्पादनले स्थानीय अर्थतन्त्र बलियो बन्ने उल्लेख गर्दै नगरपालिकाले कृषकको हितमा आगामी दिनमा पनि विभिन्न सहयोग तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने बताइन्।
नगरपालिकाका अनुसार हाते ट्र्याक्टर वितरण कार्यक्रमले किसानलाई आधुनिक उपकरण प्रयोगमा सहजता प्रदान गर्नुका साथै कृषि उत्पादन वृद्धि र श्रम लागत घटाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
























