काठमाडौं । मन्जली तामाङले १३ वर्षकै उमेरमा बाल र्यापरको छवि बनाउन सफल भएकी छन्। काठमाडौँको सरस्वतीनगरस्थित गोल्डेन पिक हाईस्कुलमा कक्षा ८ मा अध्ययनरत मन्जली अहिले ‘लेडी बाल र्यापर’का रूपमा परिचित छिन्।
प्रधानमन्त्री तथा चर्चित र्यापर पृष्ठभूमिका बालेन शाहको सांगीतिक यात्राबाट प्रेरित मन्जलीले स्वर्गीय यमबुद्धका र्याप गीतहरू पनि अत्यन्त रुचिका साथ सुन्ने गर्छिन्। भविष्यमा चर्चित र्यापर बन्ने लक्ष्य बोकेकी उनले सानै उमेरदेखि नै संगीतलाई आफ्नो जीवनको महत्वपूर्ण हिस्सा बनाएकी छन्।
मन्जलीले केवल ८ वर्षको उमेरमै ‘मामा भान्जी’ गीत गाएर सांगीतिक यात्रा सुरु गरेकी थिइन्। त्यसयता उनले सामाजिक विषयवस्तु समेटिएका विभिन्न गीतमार्फत दर्शक तथा श्रोतामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै आएकी छन्।
एक वर्षअघि सार्वजनिक भएको उनको चर्चित र्याप गीत ‘गरिबलाई कानुन’ ले व्यापक चर्चा बटुल्यो। उक्त गीतलाई हालसम्म ७ लाखभन्दा बढी पटक हेरिएको छ। त्यसपछि उनले आफ्नै युट्युब च्यानल ‘मन्जली तामाङ लेडी र्यापर’ मार्फत नियमित रूपमा आफ्ना सिर्जना सार्वजनिक गर्दै आएकी छन्।
हालै उनले आफ्नै जीवनका भोगाइ, संघर्ष र अनुभवलाई समेटेर तयार पारिएको नयाँ र्याप गीत ‘कथा’ सार्वजनिक गरेकी छन्। गीत सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भएको छ। गीतमा मन्जली स्वयंले शब्द लेखेकी छन् भने अभिनयसमेत गरेकी छन्। दर्शक तथा श्रोताले गीतको भाव, प्रस्तुति र सन्देशको खुलेर प्रशंसा गरिरहेका छन्।
सामाजिक सन्देश बोकेका र्याप गीतमार्फत पहिचान बनाएकी मन्जलीका ‘गरिबलाई कानुन’, ‘चर्चा छ चर्चा’ र ‘भ्रष्ट नेता’ लगायतका गीतहरू विशेष चर्चामा रहेका छन्। विभिन्न शैलीका गीतमा स्वर दिएकी भए पनि उनको मुख्य पहिचान भने र्याप संगीत नै बनेको छ।
आमा–बुवाको निरन्तर साथ र सहयोगले मन्जलीको सांगीतिक यात्रा अझ मजबुत बन्दै गएको छ। सानै उमेरमै दर्जनौं गीतमा स्वर दिइसकेकी उनले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरिसकेकी छन्।
शनिबार मात्रै पाँचौँ काव्य बाल कला सम्मान प्राप्त गर्दै आफ्नो उपलब्धिको सूचीमा अर्को महत्वपूर्ण सफलता थपेकी छन्।
सानै उमेरमा मन्जली तामाङको आत्मविश्वास, संघर्ष र सिर्जनशीलताले नेपाली र्याप संगीतमा नयाँ पुस्ताको बलियो सम्भावना देखाएको छ।

























