काठमाडौँ । गत असोज १० गतेको अविरल वर्षा र बाढिले विपी राजमार्ग बन्द भएपछि हिमाली जिल्ला सोलुखुम्बु देखि काठमाडौँ सडक यात्राका लागि नयाँ रुट सञ्चालनमा आएको छ ।
बुधबार सल्लेरी देखि टाक्टोर–लामाजुरा–किञ्जा–वाम्तीभण्डार जिरी हुदैँ काठमाडौँसम्मको रुट सञ्चालनमा ल्याइएको हो । बुधबार पहिलो दिन विभिन्न यातायात प्रा.लि.ले सल्लेरीबाट ८ वटा सुमो छुटाएको दुधकोशी यातायात प्रा.लि.का दार्जी शेर्पाले जानकारी दिए ।
मंगलबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको संयोजकत्वमा यातायात व्यवसायी बिच बसेको वैठकले छोटो दुरी, सुरक्षित र शितल रहेको ठहर गरेको थियो ।
सोही निर्णय अनुसार बुधबार नगरपालिका, ट्राफिक कार्यालय, यातायात व्यवसायी, चालक, सञ्चारकर्मीको टोलीले नयाँ रुटको अवलोकन, अनुगमन समेत गरेका छन् । लामाजुरासम्म पुगेर सुमोलाई विदाइ गरी फर्केको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । उनले भने, ‘वैकल्पिक रुट सञ्चालनले सोलुबासीलाई सहज हुने अपेक्षा लिएका छौँ ।’
विपी राजमार्ग अन्तरगत नेपालथोक–खुर्कोट सडकखण्डका केही भागमा सडक बगाएपछि राजमार्ग बन्द रहेको छ ।
वैकल्पिक रुटको रुपमा घुर्मी, कटारी, हेटौडा हुदै काठमाडौँ प्रयोग गर्न थालिएको थियो । उक्त रुट लामो र भाडा दर ५ हजारसम्म लिनुपर्ने भएकाले अर्को रुटको खोजी गरिएको यातायात व्यवसायीहरुले बताएका छन् ।