काठमाडौँ । अहिले यति बेला टिकटकमा एक गीत निकै भाइरल भइरहेको छ । जुन जस्तो मुहारलाई आँसु प्यारो भो, एकै मुठी सास फेर्न कति गाह्रो भो । यो शब्दमा यति बेला केहिदिनको अन्तरालमै हजारौँ टिकटक बनिसकेका छन् ।
यति मात्रै हैन, अर्को शब्द, परेबीलाई घर प्यारो मलेबीलाई बन, तिमीलाई धन प्यारो मलाई चाहीँ मन । यो शब्दमा पनि टिकटक बनिरहेका छन् । यी लोकप्रिय शब्द भर्खर सार्वजनिक समीक्षा अधिकारीले गाएको गीति कथा जुनेलीमा समावेश छन् ।
यस्ता मिठा शब्द लेख्ने काम गोविन्द भट्टले गरेका हुन् । गोविन्द तिनै गीतकार हुन् जो लामो समय देखी गीतसङ्गीतमा शब्द कोरेरै चर्चामा रहन्छन् । केहिसमय अगाडीको कुरा गर्दा अभिनेता राजेश हमालले स्वर भरेको गीत गाउँले ठिटोको गीतका शब्द पनि उनै गोविन्दले लेखेका हुन् ।
अहिले उनै गोविन्दको गितीकथा जुनेली सार्वजनिक गरिएको छ । १७ मिनेट लामो गीति कथाको भिडिओ आइतबार साँझ युट्युबमा सार्वजनिक भएको छ । कथामा बगाइएको कारण गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको देखिन्छ । भिडिओमा लोकप्रिय कलाकार प्रेम सुब्बा, कविता आले, सुवास गजुरेल, गोविन्द भट्ट, रिना गुरुङ र जासा घलेले अभिनय गरेका छन् ।
उत्सव दाहालले खिचेको भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । देवेन्द्रको निर्देशकिय कलाले भिडिओ राम्रो बनेको देख्न सकिन्छ । उनले भिडिओको बिच बिचमा प्रयोग गरेको गीतले भिडिओ अझ मिठास हुन गएको छ । भिडिओलाई साहिल खानले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर गरेका छन् । यस्तै भिडिओमा ब्याकग्राउण्ड म्युजिकको काम शैलेस श्रेष्ठले गरेका छन् ।
बिशेषगरी जुनेलीको भिडिओ सार्वजनिक अगावै अडियो प्लेटफर्मबाटै गीत धेरैले सेयर गरिरहेका छन् । यो देख्दा गोविन्द निकै खुसी छन् । उनले आफूले लेखेका शब्द खोजी खोजी दर्शकले टिकटक बनाएको देख्दा आफूलाई थप ऊर्जा मिलेको बताएका छन् । साथै गोविन्दले यस गीतका लागी आफूहरूले निकै मेहनत गरेको बताएका छन् ।
गीतको भिडिओ छायाङ्कनका लागी धादिङको गणेश हिमाल छेउसम्म पुगेको उनी बताउँछन् । गोविन्दले यसअघि तैंका ठमक, सानै छ उमेर, सुन माया लगायतका दुई दर्जन गीत उनले लेखिसकेका छन् ।