६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

सोलुदुधकुण्डमा फलफूल खेती गर्न चाहने कृषकलाई ५० प्रतिशत अनुदान दिइने


१९ भाद्र २०८०, मंगलबार  

456
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा फलफूल खेतीका लागि ५० प्रतिशत अनुदान दिइने भएको छ ।

एसियाली बिकास बैंक, विश्व कृषि तथा खाद्य कार्यक्रम र नेपाल सरकारको संयुक्त बजेटबाट सञ्चालन हुने कार्यक्रम अन्तरगत नगर भित्रका काष्ठफल तथा फलफूल लगाउन ईच्छुक कृषक तथा कृषि समूहहरुबाट आवेदन आव्हान गरिएको छ ।

कार्यक्रम सञ्चालनका लागि ७५३ स्थानीय तह मध्ये १०० वटा छनौट भएपनि यसको कार्यान्वयनको सुरुवात भने सोलु दुधकुण्ड नगरपालिकाबाट हुन लागेको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए । स्याउ, ओखर तथा किवीको व्यावसायिक खेती गर्न चाहने कृषक, कृषि समूह, निजी कृषि फर्म तथा सहकारीले कूल लागतमध्ये ५० प्रतिशत अनुदान प्राप्त गर्ने नगर प्रमुख शेर्पाको भनाई छ ।

स्थानीय कृषकहरुलाई व्यावसायिक खेतीतर्फ आकर्षित राउने उद्देश्यले अघिल्लै कार्यकालमा आफुले पहल गरेर छनौट हुन सफल भएपनि अहिले यसको कार्यान्वयन सुरु भएको शेर्पाले बताए । प्राप्त आबेदनबाट कृषक र समूहको छनौट गरि नगरपालिकाले अनुदानका लागि सिफारिस गर्ने छ ।

जारी सूचना अनुसार कार्यक्रममा सहभागी हुन एकै ठाउँ वा नछुट्टिएको कम्तीमा २० रोपनी जग्गा हुने कृषि,कृषि फर्म वा कृषि सहकारीले सम्बन्धित वडा मार्फत निवेदन दिनुपर्ने छ ।

निवेदनमा उल्लेख गरिएको विवरण सम्बन्धित वडाको कृषि प्राविधिकले पाथवे टेक्नोलोजीस एन्ड सर्भिस प्रालिले बिकास गरेको नाफा एपमा सो विवरण ल्याण्ड एन्ड म्यापिङ गर्ने कृषि शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ४० बजे