सोलुखुम्बु। पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाका ५ जनाको परिवारलाई जनही १ लाख तत्कालीन राहत उपलब्ध गराइएको छ।
अविरल वर्षापछि शनिवार पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९, गोराखानीका ३ जना र वडा नम्बर १० टाप्टीङका दुई जनाको परिवारलाई आइतबार सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट तत्कालका लागि ५० र जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट ५० हजार गरी नगद १ लाख राहतसहित त्रिपाल र सिरक उपलब्ध गराइएको हो।
पीडित परिवारसँगको भेटघाट र घटनास्थलको अवलोकनका लागि घटनास्थल पुगेका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, उपमेयर गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे सहितको टोलीले सो राहत रकम हस्तान्तरण गरेका हुन् । नगर प्रमुख शेर्पाले घटना अत्यन्तै पिडादायी भएको बताउँदै नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर पीडित परिवारलाई ३ लाखका दरले राहत प्रदान गन नकारी समेत गराए ।
नगरपालिकाको वडा नं १० टाप्टीङ सैलुनका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको जोरनाले घर पहिरोले बगाउँदा उनकी छोरी ३३ बर्षकी कविता मगर र बुहारी २४ बर्षकी रुपु मगर तथा नगरपालिकाकै वडा नं ८ गोराखानी, छेवार बस्ने ङिमा दावा शेर्पाको ढुंगा माटोले बनेको काठको छानो भएको २ तल्ले घर पहिरोले बगाउँदा घर भित्र रहेका २३ वर्षीय ल्हामु शेर्पा, करिब २८ वर्षीय रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृत्यु भएको थियो।
घटनामा परी घाइते बनेका करिब ६० वर्षीय याङजी शेर्पाको वाङछु मेमोरियल अस्पताल टाप्टीङमा उपचार भइरहेको छ ।
Source :