७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

नेचासल्यानका ६५ शिक्षकलाई ३ दिने तालिम


७ मंसिर २०८१, शुक्रबार  

0
Shares

सोलुखुम्बु । जिल्लाका नेचासल्यान गाउँपालिकामा संचालित ३ दिने विषयगत तालिम विहिबार सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित शिक्षकको पेशागत विकास तालिम हिमाल दर्शन माविमा सम्पन्न भएको हो ।

पालिका भित्रका सबै विद्यालयका ६५ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयलाई समावेश गरिएर प्रशिक्षण गरिएको रीड नेपालले जनाएको छ । तालिम समापन रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका उप प्रमुख बिना राईको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

तालिम समापन कार्यक्रममा सहभागी शिक्षकहरु तुलसा आचार्य, कमला दाहाल, होम कटेल लगायतले मन्तव्य राख्दै तालिम अवधी छोटो भएता पनि महत्वपूर्ण कुराहरु सिकेको भन्दै सिकेका सीपलाई विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पालिका उप प्रमुख बिना राईले शिक्षामा रीड नेपालको भूमिका अतुलनीय रहेको भन्दै तालिम प्रभावकारी रहेको भन्दै शैक्षिक सुधारका लागि रीड संग सहकार्य गरेर अगाडी बढिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । उनले शिक्षकहरुलाई सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिमले मार्ग निर्देशन गर्ने भएकोले तालिमबाट पुरा नभएका अपेक्षाहरुलाई शिक्षक आफैले पनि खोज अनुसन्धान गरेर सिक्न सकिने बताउदै आइ सी टी को प्रयोगमा जोड दिएर शिक्षण गर्न आग्रह गरे ।

रीड नेपालको केन्द्र विन्दुको रुपमा बालबालिका रहेकाले शिक्षक तालिम मार्फत बालबालिकाको सिकाइ उपलब्धी बढाउन तालिम आयोजना गरिएको बताउदै तालिमबाट सिकेका कुरालाई स्टाफ बीच सियर छलफल गरी प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिन सुझाव दिए ।

तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह, अर्पण रेग्मी, राजीव ढुंगाना, वासु वाग्ले र सुजाता राईले गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : २१ बजे