काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रका रात्रीकालिन होटल, रेष्टुरेण्ट तथा मनोरञ्जनात्माक व्यवसाय संचालन गर्ने समय तोकेको छ । नगरबासीको गुनासो बढेपछि राति १० बजेसम्म मात्रै रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने गरी रात्रीकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय संचालन सम्बन्धी मापदण्ड, २०८१ नै जारी गरेको छ ।
नगर प्रमुख दिपक कुमार रिसालले एक विज्ञप्ती जारी गर्दै यस नगरपालिका क्षेत्रभित्र संचालन हुने रात्रीकालिन होटल, रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक व्यवसायहरुले रात्रीकालिन समयमा अवेर सम्म व्यवसाय संचालन गरी ध्वनी प्रदुषण गरेको, मदिरापानका कारण असामजिक कार्यहरु हो हल्ला तथा झै झगडाहरु हुने, योन दुर्व्यवहार हुने र शान्ती सुरक्षामा प्रतिकुल असर पर्ने कार्यहरू भएकोले तोकिएको समयलाई अबलम्बन गर्न आग्रह गरेका छन् ।
नगरपालिकाले कार्यान्वयनमा ल्याएको रात्रीकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय संचालन सम्बन्धी मापदण्ड, २०८१ को दफा ४ को उप दफा १ बमोजिम व्यवसायीले रात्रिकालिन व्यवसाय संचालन गर्दा नगरपालिकाले तोकेको समयमा मात्र संचालन गर्नु पर्नेछ भनी उल्लेख गरिएको छ । सोही मापदण्डको आधारमा राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ ।
तोकिएको समयलाई उलंघन गरी व्यवसाय संचालन गरेको पाइएमा आवश्यक कानुनी कारवाही अघि बढाइनुका साथै व्यवसाय बन्द गराइने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।