काठमाडौं । नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।
४ मिनेट ५९ सेकेन्ड लामो गीतमा कलाकार सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ लगायत चलचित्रका अन्य कलाकारहरू फिचर्ड छन् । गीतमा डा. भोला रिजालको शब्द, थानेश्वर गौतमको संगीत तथा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ ।
कार्यक्रममा बोल्दै अभिनेत्री सिम्रन खड्काले ‘गौथली’ मा शीर्ष पात्रको भूमिका निर्वाह गर्ने अवसरलाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरिन् ।
निर्देशक डा. कपिल रिजालद्वारा निर्देशित चलचित्र ‘गौथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको नाम दुई दशकअघि वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भएको चर्चित चलचित्र ‘गौथली’ बाट सापटी लिइएको हो । उक्त चलचित्रले प्रदर्शनका क्रममा ५१ दिन मनाउन सफल भएको थियो ।

नयाँ संस्करणमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको जोडी मुख्य भूमिकामा देखिनेछ । साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
निर्माण पक्षका अनुसार ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यसँग जोडिएको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माता तथा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा रहेका छन् ।

























