काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ नुवाकोटको विदुर नगरपालिकास्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुदैछ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
प्रतियोगितामा देशभरिबाट छनोट भएका १८ उत्कृष्ट समूहले सहभागिता जनाउनेछन्। प्रतिष्ठानका अनुसार सातै प्रदेशबाट छनोट भएका १४ समूह, उपत्यका समन्वय समितिका २ समूह तथा विदेश शाखाका २ समूह गरी कुल १८ समूह रनिङ शिल्डको उपाधिका लागि प्रतिस्पर्धामा उत्रनेछन्।
प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तृतीय स्थान हासिल गर्ने समूहले १ लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट गायक, गायिका, नवगायक, नवगायिका, अनुशासित कलाकार तथा उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने कलाकारलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको नेतृत्वमा आयोजना हुन लागेको प्रतियोगिताको अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ।
आयोजकका अनुसार कार्यक्रममा करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ भने विभिन्न सञ्चार माध्यम र डिजिटल प्लेटफर्ममार्फत स्वदेश तथा विदेशमा रहेका करिब ५० लाख नेपालीभाषी दर्शकमाझ कार्यक्रम पुग्ने विश्वास गरिएको छ।
लोकदोहोरी गीत र मौलिक नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको यस राष्ट्रिय प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजकले सञ्चारकर्मी, लोकसंगीतप्रेमी तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेको छ।

























