काठमाडौँ । दुई दशक बढी देखि सोलुखुम्बुको शैक्षिक उन्नयनको क्षेत्रमा काम गर्दै रीड नेपालले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी नेतृत्व विकास तालिम दिन सुरु गरेको छ ।
खुम्बु पासाङ ल्हमू गाउँपालिका बाहेक एक नगरपालिका र ६ स्थानीय तहमा दुई दुई दिने तालिमबाट दुई सय जना लाभान्वित हुने लक्ष्य राखिएको छ । सोही योजना अनुसार रीड नेपालको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा जनजागृति माध्यमिक विद्यालय सल्लेरीमा आयोजित तालिममा नगर क्षेत्रमा रीड नेपालले कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक सङ्घ महिला सदस्यहरू गरी ३० जना सहभागी थिए ।

तालिममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको काम कर्तव्य र अधिकार, समावेशी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, कार्य योजना निर्माण लगायतका विषयवस्तु समेटिएको रीड नेपालले जनाएको छ ।
तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत सुजता राई, अर्पण रेग्मी, तालिम अधिकृत वासुदेव वाग्लेले गरेका थिए । तालिम लिएपछि सहभागीहरूले सिकेका ज्ञान र सीपलाई विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

























