सोलुखुम्बु । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी दुई दिने नेतृत्त्व क्षमता विकास तालिम प्रदान गरिएको छ ।
तालिममा माप्य दुधकोशी गाउँपालिकामा रीड नेपालले कार्यक्रम संचालन गरिरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ महिला सदस्यहरु गरी ३० जनाको उपस्थिति रहेको थियो ।
हिमालय माध्यमिक विद्यालय बासामा संचालित तालिमको उद्घाटन सत्र रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा संचालन भएको थियो भने समापन सत्र पालिका उपाध्यक्ष गौरब राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पालिकाका अध्यक्ष बुद्धिकिरण राईले विद्यालय सुधारमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको महत्त्वपूर्ण जिम्मेवारी हुने भन्दै तालिममा सक्रिय भएर सिक्न आग्रह गरेका थिए । पालिकाको शैक्षिक गुणस्तर सुधारमा रीड नेपालको अतुलनीय योगदान रहेको भन्दै तालिम आयोजनाको लागि धन्यवाद दिए ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रसाद भट्टराईले विद्यालय सुधारका लागि सुशासन व्यवस्थापन तथा समावेशी शिक्षा आफैमा एकदमै महत्त्वपूर्ण शिर्षक भएको भन्दै रीड नेपाललाई धन्यवाद दिए ।
मंगलबार भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुको तर्फबाट बोल्दै चन्द्रोदय आधारभूत विद्यालय ठुलढुंगाका विद्यालय व्यवस्थापन अध्यक्ष नौवीर राईले आफुले निकै महत्त्वपूर्ण ज्ञान आर्जन गरेको भन्दै सिकेका कुरा विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै रामपुर माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य विसुमाया राईले तालिमबाट नयाँ कार्यान्वयनमा जोड दिने बताइन ।

पालिकाका उपाध्यक्ष गौरब राईले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरु शैक्षिक क्षेत्रको नेतृत्त्व भएकोले विद्यालय सुधारमा महत्त्वपूर्ण योगदान र भूमिका हुने भन्दै आफ्नो कर्तव्यलाई बहन गर्न आग्रह गरे ।
त्यस्तै, रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले विद्यालयको सुधारको निम्ति सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी हुने भन्दै महत्त्वपूर्ण खम्बाको रुपमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ रहने हुँदा उहाँहरुलाई पनि तालिमको आयोजना गरेको बताए ।
तालिममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, समावेसी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्त्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, गुनासो सुनुवाई संयन्त्र तथा विपत जोखिम न्यूनीकरण, द्वन्द्व व्यवस्थापन र कार्ययोजना निर्माण लगायतका विषयवस्तु समेटिएको थियो ।
तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्याय, फिल्ड अधिकृत निमा शेर्पाले गरेका थिए ।
























