सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न भएको हो । रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलको अध्यक्षता र गाउँपालिका प्रमुख बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।
पालिका प्रमुख बुद्धिकिरण राईले पालिकाको शैक्षिक विकासमा रीड नेपालको योगदान अतुलनीय रहेको बताए । आजको आवश्यकता व्यावहारिक शिक्षा रहेको भन्दै रीड संग मिलेर व्यावहारिक शिक्षालाई जोड दिएर कार्यक्रम अगाडी बढाउने बताए । त्यस्तै, पालिकाको बालसंरक्षण नीतिलाई छिट्टै पारित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यशालाको मुख्य उद्देश्य समावेशी शिक्षा, अपांगता र बालसुरक्षाको विषयलाई नीति निर्माण तहमा र व्यवहारमा लागु गराराएर शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्ने रहेको बताए । सहभागीलाई सक्रियताको लागि धन्यवाद दिदै सिकेका कुरा आ–आफ्नो क्षेत्रमा व्यवहारमा उतार्न आग्रह गरे ।

सहभागीको तर्फबाट बोल्दै हिमालय माध्यमिक विद्यालयका देवी कुमारीले कार्यशालाबाट निकै महत्वपूर्ण सिकाइ भएको भन्दै कार्यान्वयनमा जोड दिने बताइन् । रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलले पालिका संगै मिलेर आगामी कार्यक्रम तय गर्ने बताए ।
कार्यक्रममा पालिका अध्यक्ष उपाध्यक्ष गौरब राई, पालिकाका वडा अध्यक्ष, शाखा प्रमुख, प्रध्यानाध्यापक गरी २५ जनाको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण अपांगता विज्ञ रामलाल धामी, नेपाल सरकारका पुर्व उपसचिव गोकर्ण शर्मा लगायतले गरेका थिए ।

























