काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले समसामयिक राजनीतिक विषयमा भम्भिर ध्यानाकार्षण भएको भन्दै आज चैत्र ६ गते प्रेश विज्ञप्ति जारी गरेको छ ।
पार्टीका महासचिव गोविन्द गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – “नेपालको वर्तमान संविधानले व्यवस्था गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा राज्य व्यवस्थापनको प्रकृति र प्रकृयाले देश र जनताको हित र कल्याण गर्न नसकेको साथै बेथिति र भ्रष्टाचार चरम चुलीमा पुगेको, परनिर्भरता अचाक्ली बढेको, वेरोजगारी बढेर लाखौं युवा शक्ति पलायन भएको, सार्वजनिक व्ययभार देशको अर्थतन्त्रले थाम्नै नसक्ने स्तरमा पुगेको जस्ता कारणले देशमा पुनःजनता अर्को विद्रोहको तयारीमा उत्रिन थालेका छन् ।
एकातिर राजनीतिक वितृष्णाले उब्जाएको जनताको बिद्रोह र अर्कोतिर सत्ता, संसद र सरकारको आडमा निस्तेज बनाउनको लागि स्वयं सत्तासीन दलहरु नै शक्ति सञ्चय र प्रदर्शनको लागि जुर्मुराउन थालेको कारण मुलुकको समसामयिक राजनीतिक परिस्थिति मुडभेड र अराकजकता तर्फ उन्मुख हुदै गएकोेमा यस पार्टीको गम्भीर ध्यानाकार्षण भएको छ ।
तमाम विकृति विसंगति र अस्थिरताको मूल कारक तत्व वर्तमान संविधान रहेकोले संविधान संशोधन गरी मुलुकलाई निकाश दिने भन्दै दुई ठुला राजनीतिक दल सत्तासिन हुन पुगेकोमा सत्ताामा पुगेपछी संविधान संशोधन वारे प्रारम्भिक छलफलसम्म अगाडि नबढाई अध्यादेशबाट मुलुक चलाउने र थप भ्रष्टाचार विकृतिको आहालमा चुर्लुम्म डुब्ने गरेका छन् ।
यथास्थितिबाट मुलुकलाई निकास दिन वर्तमान संविधान असफल भइसकेको छ भने राजावादीहरुले भन्दै आएको विगतमा असफल भइसकेको २०४७ को संविधानबाट पनि मुलुकले कुनै निकास पाउन सक्तैन । विकृति र विसंगतिपूर्ण संसदीय शासन प्रणालीलाई विस्थापित गरी राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको सिद्धान्त स्थापित गर्न यो पार्टीले आफ्नो घोषणापत्र मार्फत शासकीय स्वरुपका नवीन अवधारणा अगाडि सारेको छ ।
साथै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, मौलिक नेपाली पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा विधायिकाको व्यवस्था, विधायकहरु मन्त्री हुन नपाउने, प्रदेश संरचनाको खारेजीका साथै स्थानीय तहको पुनर्संरचना गरी थप अधिकार सम्पन्न बनाइने, न्यायपालिकाको पुनर्संरचना र न्यायधीशको पुनः नियुक्ति, भ्रष्टाचार र बेथितिमा संलग्न सबैको छानबिन गर्न र सत्ताको आडमा ढाकछोप गरिएका भ्रष्टाचारका काण्डहरुको फाइल खोली भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न विशेषाधिकार सम्पन्न आयोग गठन गर्ने लगायत र संविधान संशोधन गरेर मुलुकलाई यथास्थितिबाट निकाश दिई अग्रगमन दिगो विकास, आत्मनिर्भर अर्थतन्त्र र सुदृढ राष्ट्रियताको बाटो तर्फ अघि बढाउन आवश्यक छ ।
राष्ट्रिय मातृभूमि पार्टी सम्पूर्ण देश भक्त, राष्ट्रवादी, न्यायप्रेमी राजनीतिक शक्तिहरु तथा विभिन्न तह र तप्कामा आवद्ध व्यक्तिहरु, स्वतन्त्र बुद्धीजीवि तथा आम जनसमुदायलाई यथास्थितीको विरुद्धमा एकजुट भई आमुल परिवर्तन र अग्रगमनको विचार र बाटोमा संलग्न हुन आव्हान गर्दछौ ।”
उक्त पार्टीले गत २०८१, फागुन ९ गतेदेखि पार्टी स्थापना दिवशको उपलक्ष्यमा भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्धमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रमको अभियान मार्फत मुलुकका विभिन्न ठाउँहरुमा जनजागरण अभियान गर्दै आएको छ । उपत्यका, बागमती प्रदेश र मधेस प्रदेशमा अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन भने अन्य प्रदेशहरुमा पनि उक्त अभियान गर्ने जानकारी पार्टीले गराएका छ ।
