७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मकवानपुरबाट एसईईमा ६ जना कैदीबन्दी सहभागी



काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ मा मकवानपुरका ७ हजारबढी विद्यार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका अनुसार आजबाट सुरु भएको ‘एसईई’ परीक्षामा जिल्लाका सामुदायिक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जाएका हुन् ।

उनका अनुसार ग्रेडबृद्धिका लागि साधारणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिएका छन् । भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार ‘एसईई’परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदीले एसईई परीक्षामा सहभागिता जनाएका हुन् ।

कारागारका जेलर तिर्थराज पौडेलले एसईई परीक्षमा भीमफेदी कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जनाले परीक्षा दिन लागेका हुन् ।

उनका अनुसार कैदीबन्दीहरुले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविबाट एसईई परीक्षाको लागि फाराम भरेको र परीक्षा भने कारागार भित्रैबाट दिने व्यवस्था गरिएको छ ।

जिल्लामा यसवर्ष गत वर्षभन्दा २ वटा परीक्षा केन्द्र थप गरी २८ वटा परीक्षा केन्द्र पुर्‍याइएको छ । गत वर्ष मकवानपुरमा २६ वटा मात्रै परीक्षा केन्द्र रहेका थिए । जिल्लाको कैलाश गाउँपालिकामा पहिलोपटक नामटारस्थित कालिका माविमा परीक्षा केन्द्र तोकिएको छ भने हेटौँडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए ।

एसईई परीक्षा सञ्चालनका लागि जिल्लामा २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १० : ४३ बजे