३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

पुर्खा सम्मानदेखि न्यानो सिरक वितरणसम्म : महाकुलुङ–४ को लक्षित वर्ग कार्यक्रम सम्पन्न


३१ बैशाख २०८३, बिहिबार  

8
Shares

सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. ४ ले चालु आर्थिक वर्षको लक्षित वर्ग बजेट अन्तर्गत विभिन्न सामाजिक तथा समुदायमुखी कार्यक्रम सम्पन्न गरेको छ।

वडाले पुर्ख्यौली संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले “पुर्खा सम्मान” कार्यक्रम आयोजना गरेको छ भने एकल तथा विधुवा महिलालाई न्यानो सिरक वितरण गरिएको जनाएको छ। साथै, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समेत न्यानो सिरक वितरण गरिएको छ।

त्यसैगरी, वडा भित्रका दलित बालबालिका तथा कक्षा १ मा भर्ना भएका बालबालिकालाई शैक्षिक सामग्री अन्तर्गत झोला वितरण गरिएको वडाले जनाएको छ।

आज आयोजित कार्यक्रममा महाकुलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केडी कुलुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै अधिकृत कुलुङले पुर्ख्यौली संस्कारलाई संरक्षण गर्दै गरिएको “पुर्खा सम्मान” कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

वडा अध्यक्ष सरस्वती कुलुङले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण कार्यक्रम कार्यान्वयनमा केही ढिलाइ भएको बताउँदै अब वडाले लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ६ : ४८ बजे