सोलुखुम्बु । आगामी बैशाख १२ गते अर्थात २०८२ सालको सुरुवातसँगै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ४७ किलोमिटर लामो एभरेष्ट भ्यू ट्रेल म्याराथन प्रतियोगिता आयोजना गर्दैछ ।
पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अन्तराष्ट्रिय स्तरको म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको पालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । प्रतियोगीता गाउँपालिकाको रगंशाला कोर्कुमा सम्पन्न गर्ने कार्यक्रम छ ।
प्रतियोगिता ४ उमेर समूह (१८ बर्ष देखि २९ बर्ष सम्म, ३० बर्ष देखि ४९ बर्ष सम्म, ५० देखि ६५ बर्ष, र १८ वर्ष देखि ६५ वर्ष सम्मको खुला)मा सञ्चालनको तयारी गरिएको पालिका प्रवक्ता अमित राईले जानकारी दिए ।
१८ वर्ष देखि ६५ बर्ष सम्म खुल्ला म्याराथनका विजेता (महिला–पुरुष)लाई एक लाख, ७५ हजार र ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ भने अन्य ३ उमेर समूहगत म्याराथन प्रतियोगीताका विजेता (महिला–पुरुष)लाई २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने पालिका उपाध्यक्ष गौरब राईले जानकारी दिए ।
प्रतियोगितामा सहभागी बन्न इच्छुकहरुले आगामी बैशाख १० गते सम्म आफनो नागरिकताको प्रतिलिपि सहित शिक्षा युवा तथा खेलकुद शाखामा नाम दर्ता गर्न पालिकाले आग्रह गरेको छ ।
पालिकाका अनुसार स्थानीय देखि अन्तराष्ट्रिय स्तरको धावकहरु सहभागी हुने आंकलन गरिएको छ । यो प्रतियोगीता दोस्रो पटक हुन लागेको हो ।