५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रपति पौडेलले गरे नेचासल्यानको प्रशासकीय भवनको उद्घाटन



सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

सोमबार नेचामा आयोजित कार्यक्रममा ३ करोड ५७ लाख लागतमा निर्माण गरिएको ५ तले सुविधा सम्पन्न भवनको राष्ट्रपति पौडेलले उद्घाटन गरे । जिल्ला समन्वय समिति र गाउँपालिकाको ५० ५० प्रतिशत लगानी साझेदारीमा सम्पन्न भवन आरोन ॐ बालाजी पि आर जेभिले निर्माण गरेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै यसको विकल्प सोच्न नसकिने बताएका छन् । उनले राष्ट्रपति पौडेलले वर्तमान व्यवस्थामा हरेक नागरिक मालिक हुन पाउने भन्दै यसको सदृढीकरणमा सबैले जोड दिनुपर्ने बताए ।

रक्षामन्त्री मानवीर राईले पालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेकोमा बधाई त्रापन गरे । अधिकांश समय जिल्लाको विकासका गतिविधिमा केन्द्रीय रहेका राईले विशिष्टहरुको जिल्ला आगमनले विकासमा आयाम थप्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बल बहादुर केसीले आजका दिनलाई आफू सबैभन्दा बढि खुसी भएको दिनको रुपमा चित्रित गरे । उनले भने, मैले राजनीति गरेको ४५ वर्ष भयो । आज सबैभन्दा बढि खुसी भएको दिन हो । केसीले आफ्नो स्थानीय तहको प्रशासकीय भवन बन्नु र राष्ट्र प्रमुखबाट उद्घाटन गराएको क्षणलाई राजनीतिक जीवनकै खुसीको क्षण भएको बताए ।

पालिका अध्यक्ष धनजन राईले प्रशासकीय भवनको राजनीतिक एजेण्डा सकिएको बताए । नागरिकलाई चुस्त सेवा प्रवाहको लागि भवन गतिलो माध्यम बन्ने उनले बताए । पालिका उपाध्यक्ष विना राईले प्रशासकीय भवन उद्घाटनले नेचासल्यानको सम्भावना र समृद्धिको ढोका खोलेको बताईन् ।

उद्घाटन कार्यक्रममा दुई हजार बढि नेचासल्यानबासी, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : ३६ बजे