१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

केकी अधिकारी सहित पशुपतिमा पुगेको ‘जनै हराएको मान्छे’ टिमले गर्यो ३० हजार सहयोग


२७ श्रावण २०८२, सोमबार  

4
Shares

काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ रिलिजको मिति नजिकिदै गर्दा प्रचारलाई पनि तिब्रता दिइएको छ ।

प्रचारकै लागि आइतबार पशुपतिमा जारी ‘श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन ज्ञान महायज्ञ’मा सहभागी बनेको फिल्मको टिमले हजारौँ दर्शकमाझ फिल्मको प्रचार मात्रै गरेनन् । उनीहरुले मानव सेवा फाउण्डेशनले पवित्र उद्देश्य राखेर आयोजना गरेको महायज्ञमा रु ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

निर्माता विमल न्यौपानेले मानव सेवाको भावनाले आयोजना गरिएको महायज्ञमा फिल्मको तर्फबाट सहयोग प्रदान गरेको बताए । महायज्ञमा फिल्मका नायिका केकी अधिकारी, नायक गौरब पहरी, अभिनेता तथा एसोसियट निर्देशक मनिष राउत, निर्माता विमल न्यौपाने, प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल, अभिनेता योगी रुपेश लामा, प्रोडक्सन कन्ट्रोलर रमेश थापा, प्रोडक्सन सुपरभाइजर लक्ष्मण केसी सहभागी बनेका थिए ।

कलाकारहरुले भजनमा नाचेर भक्तजनलाई मनोरञ्जन दिएका थिए । कलाकारहरुले साउनको महिनामा पशुपतिनाथको दर्शन र पवित्र उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहभागी हुन पाउँदा प्रफुल्ल भएको प्रतिक्रिया दिएका छन् । कलाकारको टिमले आइतबारनै पशुपतिनाथको दर्शन समेत गरेका छन् ।

पारिवारिक कथामा बनेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

फिल्ममा विजय र मिरुनासँगै केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
अलटाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  १ : ०३ बजे