१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

माग्ने बुढादेखि दीपिका, प्रमोद अग्रहरीले अडिसनबाट छाने मिसेस् नेपालका प्रतिस्पर्धी


२७ श्रावण २०८२, सोमबार  

4
Shares

काठमाडौँ । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२५ को अडिसन भइरहेको छ ।

गएको साउन १७ गते काठमाडौँमा भएको अडिसनमा चर्चित अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा), प्रमोद अग्रहरी, अभिनेत्री दीपिका प्रसाईँ लगायतले प्रतिस्पर्धिहरुलाई छनौट गरेका थिए । उक्त अडिसनमा ५६ जनाबाट १९ जना छानिएको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए । अडिसनको जजमा गएको वर्षको मिसेस् नेपाल वर्ल्ड विजेता डा. डेनिला कार्कीसँगै मिसेस् नेपाल वर्ल्डका कोरियोग्राफर अश्विनी झा रहेका थिए ।

साथै अर्को अडिसन आगामी साउन ३१ गते गरिने बताइएको छ । अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेट होटेलमा हुने छ। इच्छुकले खल्ती एपमार्फत, रिबन इन्टरटेनमेन्टको वेबसाइट वा आयोजकको शंखमूलस्थित कार्यालय तथा सोही दिन होटेलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन्।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञले नियमित तालिम दिनेछन्। गङ्गा महर्जन र सम्राट् शाहको संयोजनमा प्रशिक्षण सत्र भदौ १८ गतेदेखि सुरु हुनेछ। यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानमा हुनेछ। सोही अवसरमा मिसेस् नेपाल इन्टरनेट र एमएस इन्टरनेट उपाधि विजेताहरू पनि घोषणा गरिने छ।

आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाले यस वर्ष पनि मिसेस् नेपाल वर्ल्ड विजेताले अमेरिकाको लस भेगासमा हुने मिसेस् वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। मिसेस् नेपाल इन्टरनेट र एमएस इन्टरनेट उपाधि विजेताले सिंगापुरमा हुने मिसेस् इन्टरनेसनलमा सहभागी हुने मौका पाउनेछन्।

मिसेस् वर्ल्ड २०२२ मा नेपालको तर्फबाट दीक्षा केसीले सहभागिता जनाएकी थिइन् भने मिसेस् वर्ल्ड २०२३ मा पृथ्वीया थापाले सहभागिता जनाएर मिसेस् ह्युमनिटरियन उपाधि अवार्ड प्राप्त गर्न सफल भएकी थिईन। यस वर्ष डेनिला कार्कीले मिसेस् वर्ल्ड २०२५ मा प्रतिनिधित्व जनाउने छिन्।

साथै, विगतका वर्षजस्तै यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस् नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  ९ : ०७ बजे