सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले पार्टीले कुनै पनि कार्यक्रम आधिकारिक रुपमा तय नगरेको भन्दै भ्रममा नपर्न आम कार्यकर्तालाई अनुरोध गरेको छ ।
पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले विज्ञप्ती जारी गर्दै काठमाडौँमा कुनै पनि आधिकारिक कार्यक्रम तय नगरेको प्रष्ट पारेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस, संगठन विभाग सोलुखुम्बुद्वारा हालै काठमाडौंमा नेपाली कांग्रेसको वर्तमान कार्यभार विषयमा सोलुखुम्बुका नेता कार्यकर्ताबीच विमर्श कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको विदितै छ। सो बाहेक हाल काठमाडौं उपत्यकामा नेपाली कांग्रेस, जिल्ला कार्यसमिति सोलुखुम्बुले आधिकारिक रूपमा कुनै कार्यक्रम तय नगरेको स्पष्ट गर्दछौं ।’
केही व्यक्तिहरुले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको हवाला दिंदै संगठनको स्वीकृति बेगर, पार्टी नीति, विधि र विधान विपरित नेपाली कांग्रेसको नाम दुरुपयोग गरि कथित कार्यक्रम भनी सूचना जारी गरेको प्रति नेपाली कांग्रेस सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यकर्ताबीच अनावश्यक भ्रम सिर्जना गर्ने, पार्टीभित्र गुटबन्दी र विवाद चर्काउने साथै दीर्घकालीन पार्टी एकतालाई कमजोर पार्ने दुषित मानसिकता झल्काएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीको आधिकारिक संरचना, निर्णय प्रक्रिया र सांगठनिक नीतिलाई बेवास्ता गर्दै केही व्यक्ति विशेषले गरेको उक्त कार्यक्रमको उद्देश्य स्पष्ट रूपमा पार्टी कार्यकर्तालाई विभाजित गर्नु, पार्टी नेतृत्वप्रति अविश्वास फैलाउनु र अनुशासनहीन वातावरण सिर्जना गर्नु बाहेक अरु केहि नभएको जारी विज्ञप्तिमा भनिएको छ ।

अर्को पक्षले नेपाली कांग्रेस, जिल्ला कार्यसमिति सोलुखुम्बुको आयोजनामा साउन ३१ गते शनिवार काठमाडौँमा ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम राखिएको व्यानर सार्वजनिक गरेको छ ।
प्राप्त सूचनाको आधारमा कार्यक्रमको लागि प्रमुख अतिथीको खोजी भइरहेको छ । अन्य नेता सहभागी हुने अवस्था नभए केन्द्रीय नेता बल बहादुर केसीलाई प्रमुख अतिथी र जिल्ला उपसभापतिले कार्यक्रमको अध्यक्षता गर्ने गरी तयारी गरिएको निकट स्रोतले जनाएको छ ।

जिल्ला सभापति लगायतको टिम एकातिर र उपसभापति, सचिव लगायतको टिम अर्को तिर हुनुले कांग्रेस सोलुखुम्बुको विवाद फेरि सतहमा देखिएको छ । २०७९ सालको निर्वाचनमा संघीय उम्मेदवार पराजित हुनुमा एकअर्कामा दोषारोपण गर्दै आएको कांग्रेस सोलुखुम्बु भित्र मेलमिलाप नारा भाषणमै सिमित बन्ने देखिएको छ ।
























