१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

‘३६ को आँकडा’ को फस्टलुक पोस्टर, रेखाको हत्कडीमा पूजा


३२ श्रावण २०८२, शनिबार  

4
Shares

काठमाडौँ । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ।

आज सार्वजनिक पोस्टरले नेपाली फिल्ममा प्रायः नदेखिएको फरक दृश्य प्रस्तुत गरेको छ। दुई महिला पात्रबीचको द्वन्द्वलाई फिल्मको केन्द्रमा राखिएको देखिन्छ, जुन सम्भवतः नेपाली फिल्म इतिहासमा पहिलोपटक हो। यस आधारमा फिल्मले विशेष खाले कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ।

फ्लोरमा जानु अघिनै सार्वजनिक गरिएको यो फस्ट लुक पोस्टरले दर्शकको उत्सुकता बढाउने अपेक्षा छ । नेपाली फिल्ममा फरकफरक छिमलमा ‘लिडिङ लेडी’को पहिचान बनाउँदै आफूलाई स्थापित गरेका यी दुई अभिनेत्रीको पर्दाको टक्कर दर्शकका लागि रोचक हुने देखिन्छ।

सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ। निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन। सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।

फिल्ममा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  २ : ११ बजे