१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मानव इन्द्रले जिते ‘टिकटक सिङिगङ स्टार’ सिजन ४ को उपाधि, पाए १ लाख पुरस्कार


१२ आश्विन २०८२, आइतबार  

28
Shares

काठमाडौं । टिकटक सिङिगङ स्टार सिजन ४ को उपाधि दोलखाका मानव इन्द्र श्रेष्ठले जितेका छन्।

इगल अफिसियल परिवारको आयोजनामा गत हप्ता भएको ग्रान्ड फिनालेमा विश्वभर रहेका एक सयभन्दा धेरै नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ विजेता बनेका हुन्। उपाधि जितेसँगै उनले ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा झापाकी दिपा विश्वकर्मा फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । यस्तै सुनसरीकी लक्ष्मी पराजुली सेकेन्ड रनरअप बनिन्। उनले ट्रफीसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरिन्।

विजेताहरुलाई गत शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ट्रफीसहित नगद पुरस्कार वितरण गरिएको थियो। वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ गायक तथा संगीतकार शम्भु राई, संगीतकार महेश खड्का, गायक प्रदीप देवान, ग्रुप मेम्बर निरोज दाहाल, राकेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।पुरस्कार वितरण कार्यक्रमा विजयादशमीको अवसरमा पारेर शुभकामना आदनप्रदान तथा चियापान समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अथिती वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले सामाजिक सन्जालको माध्यमबाट गायन प्रतिभालाई प्रस्फुटित गराउनका लागि गरिएको गायन सो को खुलेर प्रशंसा गरे। फरकफरक कला संस्कृति रहेको र त्यस्ता कला संस्कृतिलाई गायनमार्फत प्रतिस्पर्धामा उजागर गराउने ट्यालेन्टको खोजी शुरू गरेको कार्यक्रमका विशेष अथिती एवम् निर्णायक कर्ता वरिष्ठ गायक तथा संगीतकार शम्भु राईले बताए। अर्का निर्णायक कर्ता वरिष्ठ गायिका कुन्ती मोक्तानले अडिसनमा विश्वभरीका नेपालीहरुले उत्साहपूर्वक सहभागिता जनाएका गायन प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गरिएको बताईन्। कार्यक्रममा संगीतकार महेश खड्का, गायक प्रदीप देवान लगायतले विजेताहरुलाई हौसला प्रदान गरेका थिए।

इगल अफिसियल परिवारले विश्वभर छरिएर बसेका नेपालीहरुको गायन प्रतिभालाई खोजी गर्न सन् २०२१ देखि अडिसन सुरु गर्दै आएको टिकटक सिङिगङ स्टार, यो चौथो सिजन हो। यो संस्थाको संस्थापक एलबि प्रधान हुन्। उनी अमेरिकामा बस्दै आएका छन्।

वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ गायक तथा संगीतकार शम्भु राई र गायक गोबिन्द फुँयाल टिकटक सिङिगङ स्टार सिजन(४ का निर्णायक भूमिका रहेका थिए।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : २७ बजे